काठमाडौँ । नेपाल मेडिकल काउन्सिलको अध्यक्ष पदमा वरिष्ठ नाक, कान तथा घाँटी (ENT) विशेषज्ञ प्रा.डा. ढुण्डीराज पौडेल नियुक्त भएका छन्। नवनियुक्त अध्यक्ष डा. पौडेलले बुधबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान (IOM) बाट एमएस (नाक, कान तथा घाँटी शल्यचिकित्सा) मा ‘गोल्ड मेडल’ प्राप्त डा. पौडेल सोही संस्थानका पूर्वएमबीबीएस विद्यार्थी हुन्।
लामो समयदेखि स्वास्थ्य क्षेत्रमा क्रियाशील डा. पौडेल हाल नेपालगन्ज मेडिकल कलेज, कोहलपुरको नाक, कान तथा घाँटी विभाग प्रमुख तथा प्राध्यापकका रूपमा कार्यरत छन्। यसअघि उनले वीर अस्पताल, भेरी अस्पताल, भरतपुर अस्पताल र दाङ अस्पतालमा विभिन्न जिम्मेवारी सम्हालेर उदाहरणीय सेवा प्रदान गरिसकेका छन्।
यसका साथै, डा. पौडेलसँग नेपाल मेडिकल काउन्सिलकै नैतिकता तथा परीक्षा समितिको कार्यकारी सदस्य एवम् समन्वयकर्ताका रूपमा काम गरिसकेको प्रत्यक्ष अनुभवसमेत रहेको छ।
