ट्रम्पको ठूलो चुनावी घोषणा : रिपब्लिकन जिते अमेरिकीलाई ५ हजार डलर

0 Shares

वासिङटन — अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आगामी मध्यावधि निर्वाचनलाई लक्षित गर्दै अमेरिकी मतदातासामु असाधारण आर्थिक वाचा गरेका छन्। रिपब्लिकन पार्टीले संसद्का दुवै सदनमा नियन्त्रण कायम राखे हरेक अमेरिकी वयस्कलाई ५ हजार डलर ‘ट्रम्प डिभिडेन्ड’ दिने उनको घोषणा छ।
डल्लासमा रिपब्लिकन पार्टीको मध्यावधि सम्मेलनलाई सम्बोधन गर्दै ट्रम्पले रिपब्लिकन विजयी भए जनताले पनि त्यसको प्रत्यक्ष लाभ पाउने दाबी गरेका हुन्।
तर यो घोषणा केवल चुनावी उपहारको वाचामै सीमित छैन। करिब २७ करोड अमेरिकी वयस्कलाई ५ हजार डलरका दरले रकम वितरण गर्दा लागत १ ट्रिलियन डलरभन्दा माथि पुग्ने अनुमान छ। प्रस्ताव कार्यान्वयन गर्न कंग्रेसको स्वीकृति आवश्यक पर्ने भएकाले यसको व्यवहारिकतामाथि पनि प्रश्न उठेको छ।
उपराष्ट्रपति जेडी भान्सले भने धनी अमेरिकीहरूलाई यस्तो भुक्तानीबाट बाहिर राख्न सकिने संकेत दिएका छन्। ट्रम्प पक्षले रकमको स्रोतका रूपमा ट्यारिफबाट प्राप्त राजस्वतर्फ संकेत गरे पनि, त्यसबाट मात्रै यति ठूलो रकम जुटाउन पर्याप्त हुनेमा अर्थविद्हरूले प्रश्न उठाएका छन्।
ट्रम्पले भने रिपब्लिकन पराजित भए सीमा सुरक्षा, कर र राष्ट्रिय सुरक्षामा अमेरिकीहरूले ठूलो क्षति बेहोर्नुपर्ने चेतावनी दिएका छन्। उनले आगामी निर्वाचनलाई आफ्नै नेतृत्वको समर्थन वा विरोधका रूपमा प्रस्तुत गर्दै रिपब्लिकनलाई जिताउन मतदातालाई आह्वान गरेका छन्।
यसरी हेर्दा ट्रम्पको ५ हजार डलरको घोषणा आर्थिक राहतको प्रस्तावभन्दा पनि मध्यावधि निर्वाचनअघि मतदाता आकर्षित गर्ने राजनीतिक दाउका रूपमा अघि आएको देखिन्छ। तर चुनावी वाचा कार्यान्वयन हुन्छ कि हुँदैन भन्ने प्रश्न अब अमेरिकी राजनीतिसँगै अर्थतन्त्रमा पनि जोडिएको छ। (एपी)

सम्बन्धित समाचारसबै