चर्को घामको राप। कालोपत्रे सडकबाट निस्किएको तातो बाफ। धुलो र पसिनाले लतपतिएका अनुहार, अनिँदो आँखा र छातीभरि पीडाको पहाड बोकेर सयौँ नागरिक विगत सात दिनदेखि हरिहरभवनको सडकपेटीमा पसारिएका छन्।
यी कुनै रहरले राजधानी पसेका यात्री होइनन्। यी त ती अभागी नागरिक हुन्, जसको घरबार, खेतबारी र आत्मसम्मान लघुवित्त, मिटरब्याज तथा सहकारीको नाममा लुटिएको छ। सुनसरीको इनरुवादेखि १९ दिनको कष्टकर पैदल यात्रा पार गरेर काठमाडौं आइपुगेका यी पीडितका फुटेका पैताला र ठेला उठेका कुर्कुच्चाले आज सिङ्गो राज्यको अनुहारलाई गिज्याइरहेका छन्।सडकपेटीमा लमतन्न वृद्धा आफ्ना पैताला हेर्दै सुस्ताइरहेकी छन्— जहाँ छाला उप्किएर गहिरा धाँजा फाटेका छन् र घाउभित्रै धुलो जमेको छ। इनरुवादेखि हिँड्दाहिँड्दै पातला चप्पलहरू खिइएर सकिए, तर न्यायको बाटो अझै छोटिएन। पैतालाको घाउभन्दा मनको घाउ कयौँ गुणा गहिरो छ। छेउमा नातिनी भोक र प्यासले रोइरहेकी छे; न हजुरआमाको काखमा दुध छ, न राज्यको तर्फबाट कुनै भरोसा। प्लास्टिकका पानीका जार र झुन्ड्याइएका लुगाका पोकाहरू नै अहिले उनीहरूको सम्पूर्ण संसार बनेका छन्।
प्रहरीको पहेंलो–रातो फलामको ब्यारिकेड एकातिर छ, अर्कोतिर सडक छेउमै बाँधिएका प्लास्टिक र त्रिपाल। पानी पर्दा चुहिने र घाम लाग्दा भट्टीझैँ तातिने यही त्रिपालमुनि पीडितहरूको भान्सा, ओछ्यान र आन्दोलन चलेको छ। चर्को किरणबाट जोगिन महिलाहरू सारीको आँचलले टाउको छोपिरहेका छन् भने वृद्ध बुबाहरू फलामको बारमा अडेस लागेर टोलाइरहेका छन्— सम्झिँदै छन् गाउँको त्यो घर, जुन अहिले साहुको कब्जामा पुगिसक्यो।
धर्नास्थलमा ठडिएका प्लेकार्डहरूले कुनै राजनीतिक सत्ता मागेका छैनन्, केवल बाँच्ने अधिकार मागेका छन्:
‘हाम्रो घर फर्काइदेउ सरकार, हाम्रो परिवार फर्काइदेउ!’
‘हामी कुनै संख्या होइनौँ, हामी मानव हौँ। हामीलाई न्याय चाहिन्छ।’
आफ्नै देशको सरकारले चित्कार नसुनेपछि संयुक्त राष्ट्रसंघका महासचिवको तस्बिरसहित अन्तर्राष्ट्रिय समुदाय गुहार्नुपर्ने अवस्थाले उनीहरूको चरम निराशा र विवशता प्रस्ट पार्छ।दिनहुँको घाम, पानी, धुलो र मानसिक तनावले अधिकांश पीडित बिरामी पर्न थालेका छन्। स्वास्थ्य शिविरमा जाँच गराउँदा अधिकांशमा कुपोषण, डिहाइड्रेसन र उच्च रक्तचाप देखिएको छ। हातमा औषधि समातेकी एक महिलाको कारुणिक आवाज सुनिन्छ, “रोगले भन्दा साहुको धम्की र सास्तीले ज्यान लिइसक्यो, अब त मर्ने कि बाँच्ने केही थाहा छैन।”
सडकमा लमतन्न वृद्धवृद्धा, भोकले रोइरहेका बालबालिका, पहरा दिइरहेका प्रहरीका लट्ठी र सडकभरि छरिएका आँसु— हरिहरभवनको यो दृश्यले हरेक सचेत नागरिकको मुटु रेट्छ। आफ्नै पसिनाको मूल्य र गुमेको बासस्थान फिर्ता माग्न १९ दिन हिँडेर आएका यी नागरिकको क्रन्दन के सिंहदरबारको बन्द कोठाभित्र पुग्ला? राज्यले यी निमुखालाई न्याय दिएर घर फर्काउला कि सडकपेटीमै अलपत्र छाड्ला?
