भोटेकोशी बाढी: घाइतेको निःशुल्क उपचार र आपत्कालीन उद्धार गर्ने सरकारको निर्णय ||

0 Shares

काठमाडौँ । सरकारले भोटेकोशीमा आएको भीषण बाढीका घाइतेहरूको सम्पूर्ण उपचार निःशुल्क गर्ने भएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले उक्त जानकारी दिएका हुन्।

मन्त्री पोखरेलका अनुसार घाइतेहरूको निःशुल्क र प्रभावकारी उपचारका लागि स्वास्थ्य मन्त्रालय, नेपाली सेना तथा सरकारी अस्पतालहरूलाई एकीकृत रूपमा परिचालन गरिएको छ।

मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू:

  • आपत्कालीन उद्धार र स्थानान्तरण: बाढी प्रभावित तथा बिचल्लीमा परेका नागरिकलाई तत्काल सुरक्षित स्थानमा सार्न गृह मन्त्रालयलाई निर्देशन दिइएको छ। उद्धार कार्यलाई तीव्र बनाउन नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरसहित उपलब्ध सबै साधन-स्रोत प्रयोग गरिनेछ।

  • राहत तथा पुनःस्थापना: घरबास गुमाएका पीडितहरूका लागि गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र स्थानीय व्यवस्थापन समितिको समन्वयमा तत्काल बासस्थान र राहतको व्यवस्था मिलाइनेछ।

  • अत्यावश्यक सेवा सञ्चालन: बाढीका कारण अवरुद्ध भएका सडक तथा खानेपानी प्रणाली भौतिक पूर्वाधार र खानेपानी मन्त्रालयले तत्काल सञ्चालनमा ल्याउनेछन्। साथै, ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणलाई प्रभावित क्षेत्रमा अविलम्ब विद्युत् आपूर्ति सुचारु गर्न निर्देशन दिइएको छ।

  • क्षतिपूर्ति घोषणा: बाढीमा परी ज्यान गुमाउनेका परिवारलाई प्रचलित कानुन बमोजिम तत्काल राहत तथा क्षतिपूर्ति उपलब्ध गराइनेछ।

सम्बन्धित समाचारसबै