जीवन विकास सामुदायिक अस्पतालमा जहदाका नागरिकलाई उपचारमा ५० प्रतिशतसम्म छुट

0 Shares

मोरङ । आधुनिक स्वास्थ्य सेवा र विशेषज्ञ उपचारका लागि स्थापित जीवन विकास सामुदायिक अस्पतालले जहदा गाउँपालिकाका नागरिकलाई विभिन्न उपचार तथा स्वास्थ्य सेवामा १० देखि ५० प्रतिशतसम्म छुट दिने भएको छ।

जहदा गाउँपालिका र जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेशन फाउन्डेसनबीच भएको समझदारीसँगै जहदाका नागरिकले अब अस्पतालका विभिन्न सेवा सहुलियतपूर्ण दरमा लिन पाउने भएका छन्।

२०० शय्याको जीवन विकास सामुदायिक अस्पतालमा विशेषज्ञ चिकित्सकको परामर्शदेखि आकस्मिक उपचार, भर्ना, आईसीयू, एनआईसीयू, एचडीसीयू र सीसीयूजस्ता विशेष उपचार सेवा उपलब्ध छन्।

अस्पतालमा प्रयोगशाला, रेडियोलोजी, फिजियोथेरापी, शल्यक्रिया, डेन्टल सेवा, सीटी स्क्यान तथा एमआरआईलगायतका आधुनिक परीक्षण तथा उपचार सुविधा समेत सञ्चालनमा छन्।

अब यीमध्ये विभिन्न सेवामा जहदा गाउँपालिकाका नागरिकले १० देखि ५० प्रतिशतसम्म छुट पाउनेछन्। यसबाट उपचारका लागि टाढा जानुपर्ने बाध्यता कम हुनुका साथै विशेषज्ञ तथा आधुनिक स्वास्थ्य सेवा स्थानीयस्तरमै थप सहुलियतमा प्राप्त हुने अपेक्षा गरिएको छ।

छुट सुविधा गाउँपालिकाका नागरिकसँगै स्थानीय तहअन्तर्गतका शिक्षक, कर्मचारी, निर्वाचित जनप्रतिनिधि तथा सम्झौतामा तोकिएका परिवारका सदस्यले पनि पाउनेछन्।

भदौ २२ गते भएको समझदारीमा जीवन विकास सामुदायिक अस्पतालका प्रशासन प्रमुख अनिता कुमारी गच्छदार र जहदा गाउँपालिका अध्यक्ष जितेन्द्र प्रसाद शाहले हस्ताक्षर गरेका हुन्।

मोरङको कटहरी गाउँपालिका–२, हल्दीबारीमा रहेको जीवन विकास सामुदायिक अस्पतालले एउटै संस्थाबाट सामान्य स्वास्थ्य सेवादेखि विशेषज्ञ परामर्श, आधुनिक परीक्षण र गम्भीर अवस्थाका बिरामीका लागि विशेष उपचारसम्मको सुविधा उपलब्ध गराउँदै आएको छ।

समझदारी एक वर्षका लागि लागू हुनेछ। यस सहकार्यसँगै जहदा क्षेत्रका नागरिकका लागि गुणस्तरीय स्वास्थ्य उपचारसँगै खर्चमा समेत राहत पुग्ने भएको छ।

सम्बन्धित समाचारसबै