त्रिशूली हाइड्रोको परियोजना–१ मा ६ शव फेला

0 Shares

रसुवा । भोटेकोशी बाढीपछि थुनिएको त्रिशूली हाइड्रोको परियोजना–१ अन्तर्गतको टनेलमा ६ वटा शव फेला परेका छन्।

नेपाली सेनाको संयुक्त उद्धार टोलीले अडिट–३ टनेलभित्र खोजी गर्ने क्रममा ढलानका लागि बुनिएको डन्डीको जालीमा अल्झिएको अवस्थामा ती शव फेला पारेको हो।

जङ्गी अड्डाका अनुसार टनेलभित्र फेला परेका शवलाई ग्रिन्डर, ग्यास कटर तथा रोटरी रेस्क्यु उपकरणको प्रयोग गरी बाहिर निकालिएको छ।

टनेलभित्र हिलोले छोपिएको अवस्थामा थप शवजस्तो आकृति पनि देखिएको सेनाले जनाएको छ। त्यस क्षेत्रमा थप मानवीय अवशेष वा शव हुन सक्ने आशंकामा उद्धार टोलीले खोजी कार्यलाई निरन्तरता दिइरहेको छ।

भोटेकोशीमा आएको बाढीपछि त्रिशूली जलविद्युत् परियोजनाको उक्त क्षेत्रमा ठूलो क्षति पुगेको थियो। उद्धार टोलीले जोखिमपूर्ण अवस्थामा टनेलभित्र प्रवेश गरी खोजी तथा उद्धार कार्य गरिरहेको जनाएको छ।

सम्बन्धित समाचारसबै