मोरङ–२ मा कांग्रेस क्षेत्रीय सभापतिमा देवेन्द्र बहादुर बस्नेतको उम्मेदवारी घोषणा

0 Shares

मोरङ । नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर २ को क्षेत्रीय सभापति पदका लागि देवेन्द्र बहादुर बस्नेतले उम्मेदवारी घोषणा गरेका छन्। बस्नेतले उम्मेदवारी घोषणा गरेसँगै क्षेत्रीय अधिवेशनको राजनीतिक गतिविधि थप सक्रिय बनेको छ।
लामो समयदेखि नेपाली कांग्रेसमा सक्रिय बस्नेत हाल मोरङ क्षेत्र नम्बर २ को क्षेत्रीय समितिका उपसभापति तथा प्रदेश ‘ख’ का सभापति हुन्। यसअघि प्रदेश ‘ख’ को सभापतिको जिम्मेवारी सम्हालिसकेका बस्नेतले आफ्नो कार्यकालमा वडा तहदेखि क्षेत्रीय तहसम्म संगठन सुदृढीकरणका गतिविधिमा सक्रिय भूमिका निर्वाह गरेको बताइएको छ।
सुनवर्षी नगरपालिका–१ निवासी बस्नेतले क्षेत्रीय सभापतिमा उम्मेदवारी घोषणा गर्दै क्षेत्रका नेता–कार्यकर्ताबीचको एकता, संगठनको सुदृढीकरण र कांग्रेसको संगठनलाई थप गतिशील बनाउने आफ्नो प्राथमिकता रहेको बताएका छन्।
बस्नेतको उम्मेदवारी घोषणासँगै मोरङ–२ का विभिन्न वडा तथा पालिकाका क्षेत्रीय प्रतिनिधि र नेता–कार्यकर्ताहरूले उनको पक्षमा समर्थन जनाउन थालेको उनको पक्षको दाबी छ। क्षेत्रीय सभापतिको उम्मेदवारका रूपमा बस्नेतले लामो समयदेखि नेता–कार्यकर्तासँग निरन्तर सम्पर्क र सहकार्य गर्दै आएको समर्थकहरूको भनाइ छ।
मोरङ क्षेत्र नम्बर २ मा करिब ९ सय क्षेत्रीय प्रतिनिधि रहेको बताइएको छ। क्षेत्रीय अधिवेशन नजिकिँदै जाँदा सभापति पदका आकांक्षीहरूले आफ्नो पक्षमा प्रतिनिधिको समर्थन जुटाउने गतिविधि बढाएका छन्।

सम्बन्धित समाचारसबै