सुनसरी — गढी गाउँपालिकाका नागरिकले मोरङको कटहरीस्थित जीवन विकास सामुदायिक अस्पतालमा उपचार गराउँदा १० देखि ५० प्रतिशतसम्म छुट पाउने भएका छन्। गाउँपालिका र अस्पतालबीच भएको सम्झौताअनुसार नागरिकले विभिन्न स्वास्थ्य सेवामा सहुलियत पाउनेछन्।
गढी गाउँपालिका र जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेशन फाउन्डेसनबीच असोज २५ गते यससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो। सम्झौतामा गाउँपालिका अध्यक्ष आश नारायण चौधरी र अस्पतालका प्रशासन प्रमुख अनिता कुमारी गच्छदारले हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार गाउँपालिकाका बासिन्दा, स्थानीय तहअन्तर्गतका शिक्षक तथा कर्मचारी, निर्वाचित जनप्रतिनिधि र तोकिएका परिवारका सदस्यले अस्पतालमा उपलब्ध विभिन्न स्वास्थ्य सेवामा छुट पाउनेछन्।
ओपीडी, आकस्मिक सेवा, बेड, प्रयोगशाला, रेडियोलोजी, फिजियोथेरापी, शल्यक्रिया, दन्त सेवा, सीटी स्क्यान तथा एमआरआईलगायत सेवामा सम्झौताअनुसार सहुलियत उपलब्ध गराइनेछ।
२०० शय्याको जीवन विकास सामुदायिक अस्पतालमा २४ घण्टा आकस्मिक तथा ट्रमा केयर, विशेषज्ञ ओपीडी, आईसीयू, एनआईसीयू, एचडीसीयू र सीसीयूलगायत सेवा सञ्चालनमा छन्। अस्पतालमा विभिन्न प्रकारका शल्यक्रिया तथा आधुनिक निदानात्मक सेवा पनि उपलब्ध छन्।
समझदारीको अवधि एक वर्ष रहनेछ। आवश्यकताअनुसार दुवै पक्षको सहमतिमा सम्झौता नवीकरण वा विस्तार गर्न सकिने व्यवस्था गरिएको छ।सम्झौताबाट गढी गाउँपालिकाका नागरिकलाई उपचार खर्चमा राहत पुग्नुका साथै विशेषज्ञ स्वास्थ्य सेवामा पहुँच सहज हुने अपेक्षा गरिएको छ।