विराटनगर । सङ्घीयताको कार्यान्वयनलाई प्रभावकारी बनाउँदै प्रदेशहरूबीच विकास साझेदारी र अन्तरसरकारी समन्वय बलियो बनाउने उद्देश्यले कोशी प्रदेश सरकारले विराटनगरमा दुईदिने ‘अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन–२०८३’ आयोजना गर्दै छ। आजदेखि सुरु हुने सम्मेलनमा प्रदेशहरूको साझा समस्या, विकासका सम्भावना र सहकार्यका रणनीतिबारे छलफल हुनेछ।
सम्मेलनमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टबाहेक अन्य छ प्रदेशका मुख्यमन्त्री सहभागी हुने कार्यक्रम छ। सातै प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्षहरू पनि विराटनगरमा भेला भएका छन्।
सम्मेलनको पहिलो दिन प्रदेशहरूले हासिल गरेका उपलब्धि, नवीन अभ्यास र अनुभव आदानप्रदान गरिनेछ। त्यसपछि सङ्घीयताको संस्थागत विकास, अन्तरप्रदेश समन्वय, आर्थिक साझेदारी, प्राकृतिक स्रोतको उपयोग, विपद् व्यवस्थापन र विकासका साझा प्राथमिकतामाथि विषयगत छलफल हुनेछ।
कोशी प्रदेशका मुख्यमन्त्रीका आर्थिक सल्लाहकार मोहन सुवेदीका अनुसार सम्मेलनमा सङ्घीयता र संस्थागत विकास तथा अन्तरप्रदेशीय आर्थिक साझेदारीसम्बन्धी दुईवटा कार्यपत्र प्रस्तुत हुनेछन्।
सङ्घीयताविद् डा. खिमीलाल देवकोटाले ‘सङ्घीयता र संस्थागत विकास, अन्तरप्रदेशीय समन्वय र सहकार्य तथा नेपालको सङ्घीयताको संस्थागत विकासको मार्गचित्र’ विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन्। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका कार्यवाहक अध्यक्ष विपिनराज निरौलाको अध्यक्षतामा हुने सत्रमा संवैधानिक कानुनविद् डा. विपिन अधिकारीले टिप्पणी गर्ने कार्यक्रम छ।
त्यस्तै, ‘साझा समृद्धिका लागि अन्तरप्रदेशीय विकास साझेदारी, आर्थिक एकीकरण, कनेक्टिभिटी, प्राकृतिक स्रोत, विपद् व्यवस्थापन तथा नवप्रवर्तन’ विषयमा त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा. दीपेश कुमार घिमिरेले कार्यपत्र प्रस्तुत गर्नेछन्। उक्त सत्रको अध्यक्षता मनमोहन प्राविधिक विश्वविद्यालयका उपकुलपति डा. सुवास श्री पोखरेलले गर्नेछन् भने वित्त आयोगका पूर्वअध्यक्ष बालानन्द पौडेलले टिप्पणी गर्नेछन्।
सम्मेलनमा मुख्यमन्त्रीहरू र स्थानीय उद्योगी–व्यवसायीबीच उत्पादन तथा निर्यात प्रवर्द्धनका विषयमा पनि छलफल हुनेछ। प्रदेशहरूबीच आर्थिक सहकार्य विस्तार गरी उत्पादन, व्यापार र बजारको सम्भावना बढाउने विषयलाई छलफलको महत्त्वपूर्ण एजेन्डाका रूपमा राखिएको छ।
सम्मेलनको दोस्रो दिन पहिलो दिनका छलफल र निष्कर्षलाई एकीकृत गरी ‘कोशी घोषणा–२०८३’ को मस्यौदालाई अन्तिम रूप दिइनेछ। सातै प्रदेशबीच विकास साझेदारीको साझा प्रतिबद्धता समेटिने घोषणापत्रमा मुख्यमन्त्रीहरूले हस्ताक्षर गरी औपचारिक रूपमा जारी गर्ने कार्यक्रम छ।
घोषणापत्र सार्वजनिक गर्न दिउँसो पत्रकार सम्मेलन आयोजना गरिनेछ। त्यसपछि सहभागी टोलीले कोशी टप्पु वन्यजन्तु आरक्षको अवलोकन गर्नेछ। सम्मेलनको समापन विराटनगरमा उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशको आतिथ्यमा आयोजना हुने रात्रिभोजसँगै हुनेछ।
प्रदेश सरकारहरूबीच समन्वय र सहकार्यका लागि साझा प्रतिबद्धता निर्माण गर्ने लक्ष्य राखिएको यस सम्मेलनको प्रभावकारिता भने घोषणापत्रमा समेटिएका विषयको कार्यान्वयन र प्रदेशहरूबीचको व्यावहारिक सहकार्यले निर्धारण गर्नेछ।