कोशी कांग्रेस अधिवेशन: उपसभापति पदमा सञ्जय भट्टराईको औपचारिक उम्मेदवारी घोषणा ||

0 Shares

विराटनगर । नेपाली कांग्रेसको सांगठनिक सुदृढीकरण र निरन्तर राजनीतिमा क्रियाशील पुराना नेता सञ्जय भट्टराईले आगामी कोशी प्रदेश अधिवेशनमा प्रदेश उपसभापति पदमा उम्मेदवारी दिने निर्णय गरेका छन्। लामो समयदेखि पार्टी संगठनमा समर्पित भट्टराईको उम्मेदवारी तयारीसँगै कोशी प्रदेश कांग्रेसको आगामी नेतृत्व चयन र आन्तरिक समीकरणलाई लिएर राजनीतिक वृत्तमा नयाँ बहस र चर्चा सुरु भएको छ। मोरङको कानेपोखरी (तत्कालीन बयरवन) स्थायी घर भएका भट्टराई नेपाली कांग्रेसमा ३६ वर्षभन्दा बढी लामो सांगठनिक अनुभव बोकेका परिपक्व नेताका रूपमा परिचित छन्। २०४६ सालको जनआन्दोलनसँगै नेपाली कांग्रेसको सदस्यता लिएर राजनीतिमा होमिएका उनले २४ वर्षकै युवा उमेरमा पार्टीको महाधिवेशन प्रतिनिधि बनेर आफूलाई स्थापित गराएका थिए। तत्कालीन गाउँ समितिको सदस्यबाट सुरु भएको उनको राजनीतिक यात्रा त्यसपछि तत्कालीन मोरङ क्षेत्र नम्बर ३ मा लगातार दुई कार्यकाल क्षेत्रीय सचिव हुँदै जिल्ला तहसम्म विस्तार भएको थियो। क्षेत्रीय राजनीतिमा हासिल गरेको सफलतापछि उनले नेपाली कांग्रेस मोरङको जिल्ला सचिवको जिम्मेवारी सफलतापूर्वक सम्हालेका थिए। जिल्ला सचिवका रूपमा रहँदा मोरङभर पार्टी संगठनलाई गतिशील बनाउन, सांगठनिक गतिविधिलाई तीव्रता दिन र कार्यकर्तामाझ उत्साह भर्न उनले खेलेको भूमिकाको अहिले पनि कांग्रेस वृत्तमा उत्तिकै चर्चा हुने गर्छ। पार्टीका विभिन्न तहमा हासिल गरेको अनुभवलाई आफ्नो मुख्य राजनीतिक पुँजी मान्ने भट्टराई नवौँ महाधिवेशनदेखि निरन्तर महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य रहँदै आएका छन्। हाल उनी नेपाली कांग्रेस कोशी प्रदेशको निर्वाचित कार्यसमिति सदस्यका रूपमा प्रदेशस्तरको सांगठनिक जिम्मेवारीमा समेत सक्रिय भूमिका निर्वाह गरिरहेका छन्। पार्टी संगठन निर्माण र आन्दोलनमा निरन्तर खटिएका भट्टराईले अहिलेसम्म कुनै पनि लाभको पद नलिएको विवरण छ। गत स्थानीय तह निर्वाचन २०७९ मा उनले कानेपोखरी गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवारी दिएका थिए। उक्त निर्वाचनमा पराजित भए तापनि उनी निराश नभई पार्टीको नीति निर्माण, संगठन विस्तार र कार्यकर्ता परिचालनमा निरन्तर सक्रिय रहँदै आएका छन्। पार्टीभित्र नयाँ नेतृत्व चयन, रूपान्तरण र सुदृढीकरणको बहस चलिरहेका बेला भट्टराईले अघि सारेको प्रदेश उपसभापतिको दाबेदारीलाई कांग्रेस कार्यकर्ताहरूले ‘अनुभव, निष्ठा र निरन्तरताको कदर’का रूपमा हेरेका छन्। नेपाली कांग्रेसको कोशी प्रदेश कार्यसमितिमा उपसभापति पद महत्त्वपूर्ण संगठनात्मक जिम्मेवारी हो। प्रदेश ढाँचा बनेपछि प्रदेशभर पार्टी संगठनलाई थप व्यवस्थित र चुस्त बनाउने, स्थानीय तह, जिल्ला र प्रदेशबीच प्रभावकारी समन्वय गर्ने, कार्यकर्ताको भूमिकालाई सशक्त बनाउने र पार्टीका कार्यक्रमहरूलाई वडा तथा टोल तहसम्म पुर्याउने लक्ष्य भट्टराईले राखेका छन्। हालसम्म कोशी प्रदेश उपसभापति पदका लागि अन्य सम्भावित आकांक्षीहरूले औपचारिक उम्मेदवारी घोषणा गरिसकेका छैनन्। यद्यपि, निष्ठाको राजनीति, लामो सांगठनिक अनुभव, जिल्ला सचिव र हाल प्रदेश सदस्यका रूपमा संगठनलाई गहिराइबाट बुझेका भट्टराईको उम्मेदवारी तयारीले आगामी प्रदेश अधिवेशनमा प्रतिस्पर्धालाई थप चाखलाग्दो र अर्थपूर्ण बनाउने देखिएको छ।

सम्बन्धित समाचारसबै