विराटनगरको आईसीपी सडक असुरक्षित, दुर्घटना न्यूनीकरणका लागि सडकबत्ती र ट्राफिक निगरानी बढाउन माग

0 Shares

विराटनगर । रातको अँध्यारो, तीव्र गतिमा गुड्ने भारी सवारीसाधन र कमजोर ट्राफिक व्यवस्थापन। अन्तर्राष्ट्रिय आवागमनको महत्त्वपूर्ण मार्गका रूपमा रहेको विराटनगरस्थित एकीकृत जाँच चौकी (आईसीपी) जाने सडकमा दुर्घटनाको जोखिम बढ्दै गएपछि सडक सुरक्षा सुधारको माग गरिएको छ।

आवाज फाउन्डेसनले सडकबत्ती जडान, ट्राफिक प्रहरीको निगरानी वृद्धि तथा दुर्घटना न्यूनीकरणका लागि आवश्यक पूर्वाधार निर्माण गर्न माग गर्दै कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको ध्यानाकर्षण गराएको हो।

फाउन्डेसनका संस्थापक अध्यक्ष मोहम्मद जमशेद आलमको नेतृत्वमा रहेको टोलीले सम्बन्धित निकायलाई ध्यानाकर्षण पत्र बुझाउँदै सडकको सुरक्षा अवस्था सुधार गर्न आग्रह गरेको छ।

फाउन्डेसनका अनुसार उक्त सडकखण्डमा रातिको समयमा पर्याप्त सडकबत्ती नहुँदा सवारी चालक तथा पैदलयात्रीलाई आवागमनमा समस्या हुने गरेको छ। त्यसमाथि भारी सवारीसाधन, कन्टेनर र अन्तर्राष्ट्रिय आवागमनको चाप उच्च रहे पनि ट्राफिक व्यवस्थापन प्रभावकारी हुन नसकेको पत्रमा उल्लेख छ।

सडकमा तीव्र गतिमा सवारी चलाउने, लेन अनुशासन उल्लंघन गर्ने, जथाभावी ओभरटेक गर्ने तथा लापरवाहीपूर्वक सवारी सञ्चालन गर्ने प्रवृत्तिले दुर्घटनाको जोखिम थप बढाएको फाउन्डेसनको भनाइ छ।

त्यस्तै, सवारीसाधनको गति नियन्त्रण गर्ने उपकरण, जेब्रा क्रसिङ, दिशासूचक तथा चेतावनीमूलक ट्राफिक संकेतको अभावले सडक सुरक्षामा चुनौती थपिएको जनाइएको छ।

फाउन्डेसनले प्रस्तुत गरेको विवरणअनुसार आर्थिक वर्ष २०८२/८३ मा उक्त क्षेत्रमा भएका १५ वटा सडक दुर्घटनामा तीन जनाको मृत्यु भएको थियो भने १७ जना गम्भीर घाइते भएका थिए। चालु आर्थिक वर्ष २०८३/८४ मा भएका तीन वटा दुर्घटनामा आठ जना गम्भीर घाइते भएको विवरणसमेत ध्यानाकर्षण पत्रमा समेटिएको छ।

दुर्घटनाको यो विवरणले सडक सुरक्षाका उपाय तत्काल प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याएको छ।

फाउन्डेसनले सडकबत्ती जडानसँगै ट्राफिक प्रहरीको नियमित परिचालन, सवारीसाधनको गति नियन्त्रण, आवश्यक ट्राफिक संकेतको व्यवस्था तथा सडक सुरक्षासम्बन्धी पूर्वाधार निर्माणमा जोड दिएको छ।

यसैबीच, आवाज फाउन्डेसनको ध्यानाकर्षणपछि सम्बन्धित मन्त्रालय तथा ट्राफिक व्यवस्थापनमा संलग्न प्रहरी टोलीले उक्त सडकखण्डको अनुगमन गर्ने तयारी गरेको छ।

अनुगमनबाट सडकमा रहेका जोखिम पहिचान गरी आवश्यक सुधारका लागि पहल हुने अपेक्षा गरिएको छ। तर, सडक सुरक्षा सुधारका लागि अनुगमनसँगै ठोस निर्णय र प्रभावकारी कार्यान्वयन आवश्यक देखिन्छ।

अन्तर्राष्ट्रिय व्यापार तथा आवागमनसँग जोडिएको आईसीपी सडकलाई सुरक्षित बनाउन सम्बन्धित निकायले समयमै ध्यान दिन सके दुर्घटनाबाट हुने मानवीय र भौतिक क्षति न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचारसबै