हेल्मेट’ नलगाएका मोटरसाइकल चालकको दुर्घटनामा मृत्यु-BHITRAKOKHABAR-

0 Shares
टाउकोमा ‘हेल्मेट’ नलगाइकन मोटरसाइकल चलाएका १ जना युवकको सुनसरीको बर्जुमा दुर्घटनामा परेर मृत्यु भएको छ ।
दुर्घटनामा बर्जु गाउँपालिका–४ का २८ वर्षीय रूपेशकुमार चौधरीको मृत्यु भएको हो । उनको मृत्यु कतिबेला भयो भनेर यकिन छैन । बर्जु–४ हस्नपुरमा लडिरहेको अवस्थामा बिहीबार बिहान शव फेला परेको थियो ।
मोटरसाइकल र शव सँगै फेला परेकाले दुर्घटनामा परेर उनको मृत्यु भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । मृतकको शरीरका विभिन्न भागमा चोट लागेको थियो । टाउकोमा ‘हेल्मेट’ थिएन ।‘हेल्मेट’ नलगाइकन मोटरसाइकल चलाउँदा दुर्घटनामा परी टाउकोमा चोट लागेर उनको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ । चौधरीको शवनजिकै उनले चलाएको को ३४ प ६७६१ नम्बरको मोटरसाइकल लडिरहेको थियो ।
स्थानीयले बिहान ७ बजेतिर मोटरसाइकल लडिरहेको र चौधरीको मृत्यु भएको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले कानुनी प्रक्रिया पूरा गरेर शवलाई पोस्टमार्टमका लागि विराटनगरको कोशी अस्पताल पठाएको थियो ।प्रारम्भिक अनुसन्धानबाट टाउकोमा लागेको चोटकै कारण चौधरीको मृत्यु भएको पत्ता लागेको छ । यद्यपि, प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ ।
सम्बन्धित समाचारसबै