काठमाडौं –सातौं शहीद स्मृति स्थानीय तह राष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लबले हात पारेको छ ।
मकवानपुरको हेटौंडा – ६ स्थित गौरीटार रंगशालामा बिहीबार भएको फाइनल खेलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा ३–१ ले पाखा लगाउदै एपीएफले उपाधि कब्जा गरेको हो । निर्धारित समय गोलरहित बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।
एपिएफका लागि टाइब्रेकरमा गीता राना मगर, कप्तान अनिता बस्नेत र निशा थोकरले गोल गरिन् । रश्मि कुमारी घिसिङको प्रहार पुलिसकी गोलरक्षक उषा नाथले बचाईन । पुलिसका लागि गोलरक्षक उषाले मात्रै गोल गरिन् । पुलिसकी कप्तान निरु थापाकी प्रहार एपिएफकी गोलरक्षक अञ्जना राना मगर सेभ गरिन् । रेविका पाण्डेकी प्रहार गोल्डपोष्टमा ठोकिएर फर्किए भने सुस्मा तामाङकी प्रहार बाहिरिइन् ।
उपाधि संगै एपीएफले पाँच लाख सहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यसैगरी उपबिजेता बनेको पुलिसले नगद ३ लाख सहित शिल्ड, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ ।