पशुपतिमा व्रतालुलाई कृत्रिम वर्षाले शीतल गराइँदै |

0 Shares

पशुपतिनाथ मन्दिर परिसर कृत्रिम वर्षा गराएर श्रद्धालु भक्तजनलाई शीतल गराइएको छ। तीज पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा बिहानैदेखि दर्शनार्थीको भिड लागेको छ।

श्रद्धालु भक्तजनहरूलाई शीतल प्रदान गर्न कृत्रिम वर्षा गराइएको पशुपति क्षेत्र विकास कोषले जानकारी गराएको छ।
यसपटकबाट यस्तो अभ्यासको थालनी गरिएको हो।

आराध्यदेव पशुपतिनाथको दर्शनार्थीलाई सहज दर्शन गर्न प्रबन्ध पशुपति क्षेत्र विकास कोषले मिलाएको छ। यसका लागि  पशुपतिनाथ मन्दिरका चार ढोका बिहान ३ः०० बजेदेखि नै खुला गरिएको कोषका निमित्त सदस्यसचिव सुभासचन्द्र जोशीले जानकारी दिए।

केही भक्तजन भने बिहान ३ः०० बजेअघि पशुपति क्षेत्र पुगेर दर्शनका लागि लाममा बसिसकेका थिए। अहिलेसम्म लाममा बसेको १५ देखि २० मिनेटमा दर्शन गरेर फर्कन सकिने अवस्था रहेको उनले बताए।

पशुपति क्षेत्रमा आज करिब तीन हजार सुरक्षाकर्मी मेला व्यवस्थापनका लागि खटाइएको छ।

पशुपति क्षेत्रको बाहिरी भागबाट पशुपतिनाथ मन्दिर छिर्ने लामको व्यवस्था गरिएको छ। पशुपतिनाथको मन्दिरमा गरिने श्रीयन्त्र पूजाको समयमा समेत जाली राखी बाहिरबाटै दर्शन गर्न सक्ने गरी व्यवस्था मिलाइएको छ। कोषका सूचना अधिकारी अनिता भट्टले मूल मन्दिर प्रवेश गरेर मूल मूर्तिअघि पुगेपछि दर्शन गरेर भक्तजन बाहिरिने गरी व्यवस्थापन गरिएको जानकारी दिइन्।

सम्बन्धित समाचारसबै