विराटनगर । विराटनगरमा आज ५९औँ राधाकृष्ण रथयात्रा निकालिँदैछ। धार्मिक आस्था र सांस्कृतिक पहिचानसँग जोडिएको यो रथयात्रामा नेपालका विभिन्न जिल्ला तथा भारतबाट समेत गरी पाँच लाखभन्दा बढी श्रद्धालु सहभागी हुने अनुमान गरिएको छ।
श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने राधाकृष्ण रथयात्रा विराटनगरको लामो समयदेखिको धार्मिक तथा सांस्कृतिक परम्पराका रूपमा स्थापित छ। विसं १९८८ मा राधाकृष्ण मन्दिर स्थापना भएपछि खट यात्राबाट सुरु भएको परम्परा विसं २०२५ देखि भव्य रथयात्राका रूपमा अघि बढेको हो।
खट यात्रासहित यो परम्परा ९५औँ यात्रामा प्रवेश गरिसकेको छ भने भव्य रथयात्राको भने आज ५९औँ संस्करण हुँदैछ।
दिउँसो ३ बजे विराटनगरको राधाकृष्ण मन्दिरबाट सुरु हुने रथयात्रा करिब ८ किलोमिटर दूरी पार गर्दै पुनः मन्दिरमै फर्किनेछ। तीनपैनी, गोल्छा, ट्राफिक, रोडशेष, महेन्द्र चोक हुँदै कोशी राजमार्ग, बरगाछी र दुर्गा चोक क्षेत्रको परिक्रमा गर्ने रथयात्राका क्रममा ४४ स्थानमा विश्रामको व्यवस्था गरिएको छ।

यसपटक रथयात्रामा धार्मिक मौलिकतालाई विशेष प्राथमिकता दिइएको छ। विगतका वर्षहरूमा देखिने डीजे संस्कृति हटाउँदै भजन–कीर्तन, धार्मिक झाँकी तथा परम्परागत प्रस्तुतिलाई प्राथमिकता दिइएको आयोजकले जनाएको छ।
रथमा दुईवटा हर्न माइकमार्फत भजन बजाइनेछ भने विभिन्न स्थानमा स्थानीय भजन मण्डलीले धार्मिक प्रस्तुति दिनेछन्। यस वर्ष ९४ वटा धार्मिक, सांस्कृतिक तथा सामाजिक झाँकी रथयात्रामा सहभागी हुनेछन्।
रथयात्राको अर्को महत्वपूर्ण पक्ष भनेको सामाजिक सेवासँग जोडिएको प्रयास हो। यात्राका क्रममा संकलन हुने भेटी तथा दानपेटिकाको रकम धार्मिक गतिविधिमा खर्च नगरी भोटेकोशी बाढीपीडितका लागि राहतमा प्रयोग गर्ने तयारी गरिएको छ। तीनवटा दानपेटिकाबाट संकलित रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने आयोजकले जनाएको छ।
विशाल जनसहभागिता हुने भएकाले रथयात्रालाई व्यवस्थित बनाउन १ हजार १ सदस्यीय मूल समारोह समिति तथा २१ वटा उपसमिति परिचालन गरिएको छ। सुरक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ, विद्युत्, यातायात तथा स्वयंसेवक परिचालनका लागि छुट्टाछुट्टै व्यवस्थापन गरिएको छ।
रथयात्राको सुरक्षाका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिनुका साथै आकाशबाट समेत निगरानी गर्ने उपकरण प्रयोग गरिने तयारी छ।
धार्मिक उत्सवसँगै विराटनगरको सांस्कृतिक पहिचानको प्रतीकका रूपमा स्थापित राधाकृष्ण रथयात्राले यसपटक धार्मिक आस्थासँगै मौलिक संस्कृति, सामाजिक एकता र मानवीय सेवाको सन्देश दिने आयोजकको विश्वास छ।