राष्ट्रिय टोलीमा आदिलको दमदार पुनरागमन

0 Shares

१४ असोज, काठमाडौं । एउटा चर्चित नेपाली उखान छ ‘समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन’ भन्ने जसले समयको महत्त्व दर्शाउँछ । नेपालका युवा क्रिकेट खेलाडी मोहम्मद आदिल आलमको हकमा ठीक यही उखान मेल खान्छ ।

३ वर्षअघि स्पट फिक्सिङका कारण प्रतिबन्धमा परेका आदिलले विश्व च्याम्पियन टोलीविरुद्ध म्याच विनिङ प्रदर्शनको योगदान दिनेछन् भनेर सायदै कसैले सोचेको थियो ।

यो कुरा स्वयं आदिलले पनि सोचेका थिएनन् होला । ३ वर्षपछि जब प्रतिबन्ध फुकुवा भयो, उनी अझ खरो बनेर निस्किए र सोमबार भएको वेस्ट इन्डिजसँगको दोस्रो खेलमार्फत् राष्ट्रिय टोलीमा पुनरागमन गर्दै शानदार प्रदर्शन गरे ।

ब्याटबाट खासै योगदान दिने समय नपाएपनि आदिलले बलिङमा उच्च प्रदर्शन गरे । कप्तान रोहितले चारै ओभर बलिङ गराएका आदिलले चार विकेट नै निकालेर दिए । यही कुराबाट उनको प्रदर्शन कति दमदार रह्यो भन्ने बुझ्न सकिन्छ ।

पुनरागमन होस् त यस्तो

राष्ट्रिय टोलीमा ३ वर्षपछि स्थान पाएका आदिलले पहिलो खेलमा मौका पाएका थिएनन् । आदिलको भाग्य भनौं वा के भनौं, पहिलो खेलमा कम्मरको समस्या भोगेका पेस बलर नन्दन यादवको ठाउँमा सोमबार आदिलले खेल्ने मौका पाए ।

ब्याटिङमा एक छक्का र एक चौकासहित ११ रन बनाएका आदिलले बलिङमा भने शानदार प्रदर्शन गरे । कप्तान रोहितले आदिललाई एकै स्पेलमा तीन ओभर र त्यसपछि अर्को स्पेलमा एक ओभर गराए ।

करण केसी, सोमपाल कामीलगायत प्रमुख बलरहरूको ओभर बाँकी नै रहँदा पनि कप्तान रोहितले आदिललाई ४ ओभर नै बलिङ दिए । आदिलले पनि कप्तानलाई निराश बनाएनन् ।

 

उनले ४ ओभरमा २४ रन दिएर ४ विकेट लिए । फिल्डिङमा पनि एक क्याच लिए । वेस्ट इन्डिजजस्तो च्याम्पियन टोलीसँग यो किसिमको प्रदर्शन गर्नु पक्कै पनि चानचुने विषय होइन ।

आदिलले पुनरागमन गर्न पाउँदा धेरै खुसी लागेको बताए । ‘३ वर्ष भनेको धेरै लामो समय हो, यति लामो वर्षपछि फेरि मौका पाउँदा धेरै खुसी छु’ उनले खेलपछि भने ।

यसरी आदिलले टेस्ट राष्ट्रविरुद्ध नै खेल्न पाएको कुरा आफैंमा विशेष रहँदा पुनरागमनको मौकालाई पनि उत्कृष्ट ढंगले सदुपयोग गरे र नेपालको ऐतिहासिक शृंखला जितको हिस्सा बने ।

वेस्ट इन्डिजलाई छक्का हान्ने चाहना पूरा

यूएई जानुअघिको बिदाइ कार्यक्रमका बेला आदिलले वेस्ट इन्डिजका बलरलाई छक्का प्रहार गर्न कोसिस गर्ने उल्लेख गरेका थिए । ‘छक्का त हान्नेपर्छ, अरू कुनै विकल्प नै छैन, म राम्रो खेल्नेछु त्यस्तो अरु व्यक्तिगत इच्छा केही छैन धेरै’ आदिलले भनेका थिए ।

उनको सो इच्छा सोमबार राति पूरा भयो । ब्याटिङमा ५ बल मात्र खेल्न पाएको भएपनि उनले एक छक्का र एक चौका प्रहार गर्न भ्याए । अनुभवी काइल मेयर्सको फुल टसलाई आदिलले लेगसाइडमा छक्का प्रहार गरेका थिए ।

खेलपछि कुरा गर्दै उनले पाँच बलमा जति सक्दो रन प्रहार गर्ने योजनाले गएको बताए । ‘ब्याटिङ त मेरो अब १० ओभर पछि तलतिर नै आउँछ, जति बल पाए पनि धेरै रन जोड्न प्रयास गर्छु भन्ने थियो’ उनले भने ।

आसामसँगको सिरिजपछि राष्ट्रिय टोलीमा

आदिलको प्रतिबन्ध फुकुवा भएपछि उनलाई नेपाल ए को टोलीमा समावेश गरिएको थियो । आसामसँग भएको ५ खेलको शृंखलामा आदिलको प्रदर्शन राम्रो थियो ।

आदिलले उक्त सिरिजमा फिनिसिङको भूमिकासँगै पार्ट टाइम बलिङमा पनि योगदान दिए । आदिलले ५ खेलमा ८५ रन बनाएका थिए जुन विशेषत: फिनिसिङका बेला थियो । त्यस्तै बलिङमा ३ विकेट लिए ।

 

त्यहीँको प्रदर्शनबाट सन्दीप जोरा र आदिललाई वेस्ट इन्डिजसँग हुने ऐतिहासिक शृंखलाका लागि नेपालको अन्तिम टोलीमा समावेश गरिएको थियो ।

उक्त सिरिजले धेरै फाइदा पुगेको आदिलले बताए । ‘त्यही सिरिजका कारण म पनि फेरि राष्ट्रिय टोलीमा फर्कन पाएको छु, अरुले पनि राम्रो गर्नुभएको छ,’ उनले भने ।

प्रतिबन्धका बेला पनि निरन्तर अभ्यास

आदिल स्पट फिक्सिङ प्रकरणमा मुछिएको आरोपमा क्रिकेट गतिविधिबाट प्रतिबन्धमा परेपछि पनि खेल्न भने छाडेनन् ।

मौका पाए राष्ट्रिय टोलीबाट फेरि खेल्न अठोट लिएका उनले यसबीचमा पनि निरन्तर अभ्यास गर्थे, ब्याटिङ र बलिङमा निखार ल्याउँथे ।

यो कुरा उनले हिजोको खेलपछि पनि खुलाए । ‘मलाई एकदिन फेरि मौका पाइन्छ भन्ने आशा थियो, खेल्न छाडिनँ सधैं अभ्यास गरिरहें’ उनले भने ।

उनको यही दृढ संकल्पले उनलाई एकपल्ट फेरि राष्ट्रिय जर्सीमा खेल्ने मौका दियो र त्यसमा उनी खरो बनेर उत्रिए ।

‘टिममा कमब्याक कसरी गर्ने भनेर सोचिरहेको थिएँ, हार्ड हिटिङले मात्र कमब्याक हुँदैन भन्ने थाहा थियो’ उनले भने, ‘त्यो कठिन समयमा मैले आफुलाई व्यस्त राखें, धेरै नयाँ कुराहरू पनि सिकें।’

आदिल आलमक्रिकेट
सम्बन्धित समाचारसबै