लिग चरणको अन्तिम खेल, आज एपीएफ र इस्ट बङ्गाल आमनेसामने

0 Shares

साफ महिला क्लब च्याम्पियनसिपअन्तर्गत आज एपीएफ क्लब र भारतको इस्ट बङ्गाल फुटबल क्लबबीच लिग चरणको अन्तिम खेल हुँदैछ। खेल बेलुका ६ बजे दशरथ रंगशालामा शुरू हुनेछ।

यसअघि नै फाइनलमा स्थान पक्का गरिसकेका यी दुई टोली लिग चरणको अन्तिम खेल खेल्न लागेका हुन्। एपीएफ र इस्ट बङ्गालबीच उपाधिका लागि प्रतिस्पर्धा आउँदो शनिबार हुनेछ।

लिग चरणका तीन खेलबाट एपीएफले ७ अंक जोडेको छ भने इस्ट बङ्गालले ९ अंकसहित शीर्ष स्थानमा छ। आजको खेल जित्ने टोली लिगको शीर्ष स्थानमा रहँदै फाइनल खेल्नेछ।

दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) ले पहिलो पटक आयोजना गरेको महिला क्लब च्याम्पियनसिपमा नेपाल, भारत, भुटान, बङ्गलादेश र पाकिस्तानका लिग विजेता क्लबहरूको सहभागिता छ।

साफ महिला क्लब च्याम्पियनसिपको पहिलो संस्करण मंसिर १९ गतेदेखि काठमाडौँमा शुरू भएको हो। प्रतियोगिताको उपाधि विजेताले १० हजार अमेरिकी डलर र उपविजेताले ५ हजार अमेरिकी डलर प्राप्त गर्नेछन्। बाँकी तीन टोलीले समान २ हजार अमेरिकी डलर पाउनेछन्।

सम्बन्धित समाचारसबै