बीमा बोर्डको भुक्तानी नआएपछि टिचिङ अस्पतालले स्वास्थ्य बीमा सेवा बन्द गर्ने

0 Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) ले आगामी माघ १ गतेदेखि स्वास्थ्य बीमा अन्तर्गतका सबै उपचार सेवा बन्द गर्ने निर्णय गरेको छ। स्वास्थ्य बीमा बोर्डबाट लामो समयदेखि दाबी भुक्तानी नआएकाले अस्पतालको आर्थिक अवस्था गम्भीर बनेको भन्दै यस्तो निर्णय लिइएको हो।

अस्पताल प्रशासनका अनुसार स्वास्थ्य बीमा बोर्डले हालसम्म करिब ४० करोड रुपैयाँ भुक्तानी दिन बाँकी राखेको छ। अस्पतालको मासिक खर्च औसत ५ करोड रुपैयाँभन्दा बढी भए पनि बोर्डबाट आधाभन्दा कम रकम मात्र दाबी स्वीकृत हुँदै आएकोले आर्थिक दबाब बढेको अस्पतालले जनाएको छ।

अस्पतालले उपचार दररेटमा बीमा बोर्ड र अस्पतालबीच ठूलो अन्तर रहेको, पटक–पटक ध्यानाकर्षण गराउँदा पनि कुनै सुनुवाइ नभएको जनाएको छ। विगत दुई वर्षदेखि आफ्नै आन्तरिक स्रोत प्रयोग गरी दैनिक खर्च धान्दै आएको अस्पतालले अब थप घाटा बेहोरेर बीमा सेवा दिन नसक्ने निष्कर्षमा पुगेको बताएको छ।

अस्पतालका सूचना अधिकारी डा. गोपाल सेढाईं का अनुसार विभिन्न आर्थिक वर्षमा दाबी गरिएको ठूलो रकम अझै भुक्तानी हुन बाँकी छ। “भुक्तानी नहुँदा अस्पतालको आन्तरिक स्रोतमा गम्भीर असर परेको छ,” उनले भने, “औषधि तथा स्वास्थ्य सामग्री आपूर्तिकर्तालाई पनि पाँच महिनादेखि भुक्तानी दिन सकिएको छैन। घाटा नै खाएर सेवा दिन सम्भव नभएपछि सेवा बन्द गर्ने निर्णयमा पुग्नुपर्‍यो।”

स्वास्थ्य बीमा बोर्डका अनुसार देशभरका सूचीकृत स्वास्थ्य संस्थालाई ११ अर्ब रुपैयाँभन्दा बढी भुक्तानी दिन बाँकी छ। लामो समयदेखि उपचार खर्च नपाएपछि धेरै अस्पतालहरूले आगामी केही हप्ताभित्र बीमा कार्यक्रम बन्द गर्ने चेतावनी दिँदै आएका छन्।

यस अवस्थाले बीमित नागरिक प्रत्यक्ष रूपमा उपचार सेवाबाट वञ्चित हुने जोखिम बढेको छ भने स्वास्थ्य बीमा कार्यक्रम नै धरासायी हुने खतरा देखिएको छ। सरकारले पर्याप्त अनुदान नदिँदा बोर्डले सेवा प्रदायक संस्थालाई समयमै भुक्तानी गर्न नसकेको बताइँदै आएको छ।

सम्बन्धित समाचारसबै