कटहरी । मुनाफा वितरण नगर्ने उद्देश्यका साथ कटहरीमा स्थापित जीवन विकास सामुदायिक अस्पताल तथा प्राविधिक शिक्षण प्रतिष्ठानले पुनः विशेष निःशुल्क स्वास्थ्य सेवा अभियानको घोषणा गरेको छ ।
नेपालीहरूको सांस्कृतिक पर्व माघे सङ्क्रान्तिको अवसर पारेर अस्पतालले माघ महिनाभरि हाइड्रोसिल र हर्नियाका बिरामीका लागि निःशुल्क शल्यक्रिया अभियान सञ्चालन गर्ने जनाएको हो ।
अस्पतालका संयोजक तेजस्वी मण्डलका अनुसार आर्थिक अभावका कारण शल्यक्रिया गराउन नसकी समस्या लुकाएर बस्न बाध्य विपन्न बिरामीलाई लक्षित गरी यो सेवा सुरु गरिएको हो ।
अभियान अन्तर्गत माघ १ गतेदेखि माघ २९ गतेसम्म हाइड्रोसिल र हर्नियाको शल्यक्रिया निःशुल्क गरिनेछ । तर शल्यक्रिया बाहेक औषधि, शय्या शुल्क र प्रयोगशाला परीक्षण शुल्क भने बिरामीले तिर्नुपर्नेछ । जीवन विकास सामुदायिक अस्पतालमा प्रयोगशाला तथा शय्या शुल्क अन्य अस्पतालको तुलनामा सस्तो रहेको जनाइएको छ ।
यसैगरी बढ्दो मधुमेहको जोखिमलाई मध्यनजर गर्दै अस्पतालले माघ १ गतेदेखि चैत ३० गतेसम्म तीन महिनाको अवधिका लागि मधुमेहका बिरामी तथा शङ्का लागेका व्यक्तिहरूका लागि रगतमा चिनीको मात्रा र पिसाब परीक्षण पूर्ण रूपमा निःशुल्क गर्ने घोषणा गरेको छ ।
यसअघि सञ्चालन गरिएको तीन महिने अभियानबाट १७ जना बिरामीले निःशुल्क शल्यक्रिया गराई लाभ लिइसकेका छन् । अघिल्लो अभियानको सफलतालाई आधार मानेर यसपटक पुनः सेवा विस्तार गरिएको संयोजक मण्डलले जानकारी दिए ।
मुनाफा रहित ढङ्गले समुदायको सेवामा समर्पित अस्पतालले विपन्न तथा पहुँचविहीन नागरिकलाई प्रत्यक्ष स्वास्थ्य लाभ पुर्याउने उद्देश्य राखेको छ । अस्पतालले सेवा लिन इच्छुक व्यक्तिहरूलाई सम्पर्क गर्न अनुरोध गरेको छ ।