जाडोयाममा चिसो हावा र वातावरणमा आद्रता घट्दा छालामा प्रत्यक्ष असर पर्न थाल्छ। यस्तो मौसममा छाला सुक्खा, खस्रो, बेजान देखिनुका साथै तन्किएको महसुस हुनु सामान्य समस्या हो। शरीरले आवश्यक पोषण नपाउँदा चिलाउने, जलन हुने र अत्यधिक थकान महसुस हुने अवस्था पनि देखिन सक्छ।
आयुर्वेदका अनुसार जाडो मौसममा आल्मन्डको तेललाई उत्कृष्ट प्राकृतिक मसाज आयल मानिन्छ। यो तेलले छालालाई सतहमा मात्र नभई भित्रसम्म पुगेर पोषण दिन्छ। नियमित प्रयोगले शरीरलाई न्यानो अनुभूति दिलाउनुका साथै आराम र ताजगी प्रदान गर्छ। आल्मन्डको तेलमा प्रशस्त मात्रामा पाइने भिटामिन ई, ओमेगा–३ फ्याटी एसिड र एन्टिअक्सिडेन्टका कारण यसलाई जाडोमा जीउ मालिसका लागि उत्तम विकल्प मानिन्छ।
आल्मन्डको तेलले छालाको गहिरो तहसम्म नमी पुर्याएर सुक्खापन हटाउन मद्दत गर्छ। जाडोयाममा धेरैलाई कुर्कुच्चा फुट्ने, छाला चिरा पर्ने र खस्रो हुने समस्या देखिन्छ, जुन समस्याबाट राहत दिन यो तेल प्रभावकारी हुन्छ। नियमित मालिसले छालालाई नरम, स्वस्थ र प्राकृतिक रूपमा चम्किलो बनाउँछ। यसमा भएका फ्याटी एसिडले छालाको नमीलाई जोगाएर छालालाई मजबुत बनाउने काम गर्छ।
चिसो मौसमका कारण मांसपेशी दुख्ने, शरीर अकडिने वा जीउ भारी हुने समस्या पनि धेरैमा देखिन्छ। यस्तो अवस्थामा आल्मन्डको तेलले मालिस गर्दा दुखाइ कम हुनुका साथै रक्तसञ्चार सुधार हुन्छ र शरीर न्यानो रहन्छ। यो तेल बालबालिका, वयस्कदेखि वृद्धवृद्धासम्म सबै उमेर समूहका लागि सुरक्षित र लाभदायक मानिन्छ।
यसमा समावेश भिटामिन ‘ई’ ले छालामा देखिन थाल्ने चाउरीपना र मसिना धर्साहरू घटाउन सहयोग गर्छ। त्यसैले आल्मन्डको तेललाई एन्टी–एजिङ गुणयुक्त प्राकृतिक तेलका रूपमा पनि लिइन्छ। हल्का र प्राकृतिक गुण भएकोले संवेदनशील छाला भएका व्यक्तिले पनि निडर भएर प्रयोग गर्न सक्छन्, एलर्जीको सम्भावना न्यून हुन्छ।
शारीरिक फाइदामात्र होइन, आल्मन्डको तेलले मानसिक स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्छ। राति सुत्नुअघि यसले मालिस गर्दा दिनभरको तनाव कम भई मन शान्त हुन्छ र निद्रा पनि गुणस्तरीय लाग्छ।
यस कारण जाडो मौसममा छाला र शरीरलाई स्वस्थ, नरम र सन्तुलित राख्न आल्मन्डको तेललाई दैनिक जीवनशैलीमा समावेश गर्नु बुद्धिमानी निर्णय हुन सक्छ। यो प्राकृतिक, सुरक्षित र प्रभावकारी उपाय हो, जसले चिसो मौसममा शरीर र छालाको समग्र हेरचाह गर्छ।