काठमाडौं, ८ माघ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशाला सरकारले राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको सूचीमा राखेको छ। सहरी विकास मन्त्रालयले उक्त रंगशालालाई औपचारिक रूपमा राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा सूचीकृत गरेको जनाएको छ।
सरकारले यसअघि असोज महिनाको अन्तिम साता त्रिवि क्रिकेट रंगशालाको गुरुयोजना स्वीकृत गरेको थियो। गुरुयोजना स्वीकृत भएसँगै सम्बन्धित सरोकारवाला निकायलाई नयाँ संरचना निर्माण र आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिइएको छ।
मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार गुरुयोजनामा समेटिएका पूर्वाधार विस्तारका लागि आवश्यक जग्गा प्राप्ति गर्न त्रिभुवन विश्वविद्यालय, युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्लगायत निकायलाई कानुनअनुसार समन्वय गर्न निर्देशन दिइएको थियो।
सहरी विकास मन्त्रालयका अनुसार स्वीकृत गुरुयोजनाअनुसार क्रिकेट रंगशालाको संरचना विकासका लागि थप करिब १० अर्ब रुपैयाँ लगानी गर्ने तयारी छ। उक्त लगानीपछि रंगशालाको दर्शक क्षमता उल्लेखनीय रूपमा बढ्ने र अन्तर्राष्ट्रिय मापदण्डअनुसारको अत्याधुनिक रंगशाला निर्माण हुने अपेक्षा गरिएको छ।