९ माघ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आज (शुक्रबार) बस्न लागेको केन्द्रीय कार्यसमिति बैठकबाट निर्वाचनलाई केन्द्रमा राखेर ऐतिहासिक निर्णय हुने बताएका छन्।
केन्द्रीय कार्यालय सानेपामा पहिलोपटक बस्न लागेको नवनिर्वाचित केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुन पुगेका महामन्त्री पौडेलले सञ्चारकर्मीसँग कुरा गर्दै बैठकका निर्णयले राष्ट्रिय राजनीतिको माहोलमा नयाँ तरंग ल्याउने दाबी गरे। उनका अनुसार आजको बैठकले कांग्रेसप्रति मतदाताको आकर्षण बढाउन निर्णायक भूमिका खेल्नेछ।
‘आजको बैठकले निर्वाचनलाई लक्षित गर्दै केही ठोस र ऐतिहासिक निर्णय लिँदैछ,’ पौडेलले भने, ‘यसले देशभर नयाँ सन्देश प्रवाह गर्नेछ र चुनावमा कांग्रेसको पक्षमा माहोल निर्माण गर्न मद्दत गर्नेछ।’
दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको आज बस्ने बैठकले सभापति गगनकुमार थापालाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्दै निर्वाचनमा जाने रणनीति तय गर्ने तयारी गरेको बताइएको छ।