काठमाडौँ । फिनल्यान्डका वैज्ञानिकहरूले हावामार्फत तारबिनै बिजुली प्रवाह गर्न सफल भएका छन्। हेलसिन्की विश्वविद्यालय र ओउलु विश्वविद्यालयको संयुक्त टोलीले अमेरिकी म्यागजिन टाइमको अनुसार यो सफलता हासिल गरेको हो।
वैज्ञानिकहरूले अल्ट्रासोनिक ध्वनि तरङ्ग, लेजर र रेडियो फ्रिक्वेन्सी प्रविधिको संयोजनमार्फत हावामा अदृश्य मार्ग निर्माण गरेका छन्, जसलाई ‘अकुस्टिक वायर’ भनिन्छ। यसमार्फत विद्युत झिल्काहरू कुनै भौतिक सम्पर्कबिना सुरक्षित रूपमा प्रवाह हुन्छन्।
यो प्रविधि प्रारम्भिक चरणमा भए पनि घर, उद्योग र इलेक्ट्रोनिक उपकरणहरूको स्वरूप नै बदल्ने सम्भावना देखिन्छ। यदि व्यावहारिक रूपमा विस्तार भयो भने प्लग, तार र परम्परागत जडानको आवश्यकता अन्त्य हुन सक्छ।
वैज्ञानिकहरूले व्यावसायिक प्रयोगका लागि अझै केही चुनौतीहरू समाधान गर्नुपर्ने बताएका छन्। मुख्य चुनौतीमा ऊर्जा प्रवाहको दूरी र क्षमता बढाउनु, सुरक्षा सुनिश्चित गर्नु र लागत घटाउनु पर्दछ।
विशेषज्ञहरूले भन्छन्, वायरलेस बिजुली प्रवाहले तार र केबलको जटिलता घटाउने, दुर्घटनाको जोखिम कम गर्ने र स्थापना खर्च घटाउने सम्भावना छ। यो प्रविधि चिकित्सा, औद्योगिक स्वचालन र दुर्गम क्षेत्रका उपकरणहरूमा विशेष उपयोगी हुनसक्ने अनुमान छ।