पश्चिम बङ्गालमा निपाह भाइरस पुष्टि भएपछि नेपालमा उच्च सतर्कता

0 Shares

काठमाडौँ । छिमेकी मुलुक भारतको पश्चिम बङ्गालमा निपाह भाइरस पुष्टि भएपछि नेपालमा पनि यसको सम्भावित जोखिमलाई ध्यानमा राख्दै सतर्कता बढाइएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा हालसम्म निपाह भाइरसको सङ्क्रमण पुष्टि नभए पनि भौगोलिक अवस्थाका कारण जोखिम उच्च रहेको जनाएको छ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार चमेरा, बङ्गुरलगायत निपाह भाइरसका सम्भावित वहाक जनावर नेपालमा पनि पाइने भएकाले संक्रमण फैलिने खतरा रहन्छ। यही जोखिमलाई मध्यनजर गर्दै विमानस्थल, सीमा नाका र स्वास्थ्य संस्थामा निगरानी कडा बनाइएको उनले जानकारी दिए। शङ्कास्पद लक्षण देखिएका व्यक्तिको नमुना संकलन गरी परीक्षण गर्न निर्देशन दिइएको र सीमा क्षेत्रका हेल्थ डेस्कलाई सक्रिय बनाइएको मन्त्रालयको भनाइ छ।

प्रदेश तथा स्थानीय तहसँग समन्वय गरेर सम्भावित जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी गरिएको पनि मन्त्रालयले जनाएको छ। डा. बुढाथोकीले निपाह भाइरस नेपालमा प्रवेश गर्न नदिन सबै सुरक्षा संयन्त्र सतर्क अवस्थामा राखिएको बताए।

सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार निपाह भाइरस जनावरबाट मानिसमा सर्ने गम्भीर प्रकृतिको भाइरस हो, जो विशेषगरी फलफूल खाने चमेरामा पाइन्छ। चमेराबाट सुँगुर, गाई–गोरुजस्ता जनावर हुँदै मानिसमा सर्ने जोखिम उच्च हुन्छ। यो भाइरस जनावरबाट जनावरमा, जनावरबाट मानिसमा र मानिसबाट मानिसमा समेत सर्न सक्ने भएकाले सावधानी अत्यन्त आवश्यक रहेको उनी बताउँछन्।

सङ्क्रमित जनावरको सम्पर्कमा आएको फलफूल सेवन गर्दा वा सङ्क्रमित व्यक्तिको रगत, दिसा–पिसाबसँग प्रत्यक्ष सम्पर्कमा आएमा यो भाइरस सर्न सक्छ। भाइरस शरीरमा प्रवेश गरेको चारदेखि १४ दिनभित्र ज्वरो आउने, टाउको दुख्ने, चक्कर लाग्ने, मांसपेशी दुख्ने, वाकवाकी लाग्ने तथा श्वासप्रश्वासमा समस्या देखिन सक्ने चिकित्सकको भनाइ छ। समयमै उपचार नपाएमा २४ देखि ४८ घण्टाभित्र निमोनिया, अचेत अवस्था र मृत्यु समेत हुन सक्ने जोखिम रहन्छ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार निपाह भाइरसको मृत्युदर ४० देखि ७० प्रतिशतसम्म रहेको छ भने केही स्थानमा यो दर अझ बढी देखिएको छ। हालसम्म निपाह भाइरसविरुद्ध कुनै निश्चित खोप वा विशेष उपचार उपलब्ध छैन, र उपचार लक्षणको आधारमा मात्र गरिन्छ।

चिकित्सकहरूले ज्वरो वा श्वासप्रश्वाससम्बन्धी लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा जाँच गराउन, सङ्क्रमित व्यक्तिसँग नजिकको सम्पर्कबाट टाढा रहन र अनावश्यक भय नमानि सतर्कता अपनाउन आग्रह गरेका छन्। साथै, सङ्क्रमित देशबाट फर्किएका व्यक्तिलाई केही समय क्वारेन्टाइनमा बस्न, फलफूल राम्ररी पखालेर खाने, मासु र तरकारी राम्रोसँग पकाएर खाने तथा व्यक्तिगत सरसफाइमा ध्यान दिन सुझाव दिइएको छ।

सम्बन्धित समाचारसबै