काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले जापानी व्यापारिक समुदायलाई नेपालमा निर्धक्कसँग लगानी गर्न र नयाँ व्यापारिक अवसरको खोजी गर्न आह्वान गरेका छन्। नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठका अवसरमा जापानको टोकियोमा आयोजित अन्तरक्रियात्मक कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन्।
राष्ट्रपति पौडेलले नेपालमा वैदेशिक लगानीका लागि पूर्ण सुरक्षा, निर्बाध सहजीकरण र मुनाफा फिर्ताका लागि सहज तथा स्पष्ट कानुनी प्रक्रिया सुनिश्चित गरिएको बताए। नेपाल सरकारले लगानीमैत्री नीति अवलम्बन गर्दै आकर्षक प्रतिफल र स्थिर समष्टिगत आर्थिक वातावरण तयार गरेको उल्लेख गर्दै उनले जापानी निजी क्षेत्रसँग दीर्घकालीन र घनिष्ठ साझेदारी निर्माण गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे।
उनले कृषि, जलस्रोत र पर्यटनजस्ता क्षेत्र नेपालका प्रमुख सम्भावना भएको उल्लेख गर्दै यी क्षेत्रमा जापानी लगानी र प्रविधिबाट दुवै देश लाभान्वित हुन सक्ने बताए। गौतम बुद्धको दर्शनले नेपाल र जापानलाई प्राचीनकालदेखि नै सांस्कृतिक रूपमा जोडेको स्मरण गर्दै राष्ट्रपति पौडेलले भने, “नेपालमा लगानी गरे धन पनि हुन्छ, धर्म पनि हुन्छ।”
राष्ट्रपति पौडेलले जापानलाई नेपालको एक विश्वसनीय र दीर्घकालीन विकास साझेदारको रूपमा वर्णन गर्दै दशकौँदेखि नेपालको सामाजिक–आर्थिक विकासमा जापानले पुर्याउँदै आएको योगदानको प्रशंसा गरे। उनले नेपाल यसै वर्षको अन्त्यसम्ममा अति कम विकसित मुलुकको सूचीबाट स्तरोन्नति हुन लागेको र सन् २०३० सम्ममा मध्यम आय भएको मुलुक बन्ने लक्ष्य राखेको जानकारी दिए।
उक्त लक्ष्य हासिल गर्न ठूलो पुँजी र विदेशी लगानी आवश्यक पर्ने उल्लेख गर्दै उनले सूचना प्रविधि, खानी तथा उत्पादनमूलक उद्योगमा जापानी प्रविधि र लगानीको विशेष अपेक्षा रहेको बताए। नेपाल लगानी बोर्डमार्फत ठूला लगानीकर्तालाई एकद्वार सेवा उपलब्ध गराइएको र नेपाल दक्षिण एसियामै व्यावसायिक वातावरणका लागि अनुकूल मुलुक भएको तथ्य विभिन्न अन्तर्राष्ट्रिय एजेन्सीहरूले पुष्टि गरेको उनको दाबी थियो।
चीन र भारतजस्ता विश्वका दुई ठूला अर्थतन्त्रको बीचमा अवस्थित हुनु नेपालका लागि व्यापारिक दृष्टिले थप फाइदाजनक रहेको उल्लेख गर्दै उनले नेपाललाई क्षेत्रीय व्यापार र लगानीको केन्द्रका रूपमा विकास गर्न सकिने सम्भावना औँल्याए।
कार्यक्रममा परराष्ट्र सचिव अमृत राई र सहसचिव भृगु ढुङ्गानाले नेपालमा लगानीका सम्भावना, नीतिगत सुधार र प्राथमिकताका क्षेत्रबारे कार्यपत्र प्रस्तुत गरेका थिए। कार्यक्रममा सहभागी जापानी व्यवसायीहरूले नेपालमा रहेका लगानीका अवसरबारे जानकारी पाउँदा खुसी लागेको प्रतिक्रिया दिँदै यसले भविष्यमा आपसी सहकार्य विस्तार गर्ने विश्वास व्यक्त गरेका थिए।