काठमाडौं । भारतमा निपा भाइरसको सङ्क्रमण फैलिँदै गएपछि नेपाल सरकारले सतर्कता बढाएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले निपा भाइरसको नमूना सङ्कलन र परीक्षणका लागि अन्तरिम निर्देशिका तयार गरी लागू गरेको छ ।
निर्देशिकाअनुसार ज्वरोसँगै गम्भीर श्वासप्रश्वास समस्या देखिएका, हालै भारतको निपा प्रभावित क्षेत्रबाट फर्किएका वा निपासँग मिल्दोजुल्दो लक्षण देखिएका व्यक्तिलाई ‘शंकास्पद निपा केस’का रूपमा वर्गीकरण गरिनेछ ।
विशेषगरी बंगलादेश तथा भारतका पश्चिम बंगाल र केरलाजस्ता निपा संक्रमण पुष्टि भएका क्षेत्रबाट आएका व्यक्तिहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
महाशाखाले शंकास्पद तथा सम्भावित निपा संक्रमितलाई तुरुन्तै आइसोलेसनमा राखी अस्पताल भर्ना गर्नुपर्ने व्यवस्था गरेको छ । साथै, संक्रमितको उपचार र हेरचाहमा संलग्न स्वास्थ्यकर्मीले अनिवार्य रूपमा व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) प्रयोग गर्नुपर्ने उल्लेख गरिएको छ ।