स्वास्थ्य बिमाको भुक्तानी संकट समाधानतर्फ सरकार सक्रिय

0 Shares

काठमाडौं । स्वास्थ्य बिमासम्बन्धी भुक्तानी समस्याले देशभरका अस्पताल र स्वास्थ्य सेवा प्रदायक संस्थाहरू प्रभावित भइरहेका बेला प्रधानमन्त्री सुशीला कार्कीले समस्या समाधानका लागि पहल सुरु गरेकी छन् । सोही क्रममा प्रधानमन्त्रीले सरोकारवाला निकायहरूसँग छलफल गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज अपराह्न बैठक आह्वान गरेकी हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बैठकमा स्वास्थ्य बिमा बोर्ड, स्वास्थ्य मन्त्रालय, अर्थ मन्त्रालय तथा निजी तथा सरकारी स्वास्थ्य सेवा प्रदायक संस्थाका प्रतिनिधिहरू सहभागी हुने अपेक्षा गरिएको छ । बैठकमा स्वास्थ्य बिमाको भुक्तानी ढिलाइ, सेवा प्रवाहमा परेको असर र दीर्घकालीन समाधानका उपायबारे छलफल हुने जनाइएको छ ।

केही समययता देशका विभिन्न भागमा रहेका अस्पतालहरूले स्वास्थ्य बिमाबापतको रकम लामो समयसम्म नपाउँदा सेवा बन्द गर्ने वा सीमित गर्ने निर्णय लिएका थिए । स्वास्थ्य सेवा प्रदायक संस्थाहरूले स्वास्थ्य बिमा बोर्डबाट समयमै भुक्तानी नहुँदा औषधि खरिद, कर्मचारी तलब तथा सेवा निरन्तरतामा गम्भीर समस्या आएको भन्दै सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् ।

स्वास्थ्य बिमा बोर्डका अनुसार हाल देशभर सूचीकृत स्वास्थ्य संस्थालाई १० अर्ब रुपैयाँभन्दा बढी रकम भुक्तानी गर्न बाँकी छ । लामो समयदेखि भुक्तानी नहुँदा स्वास्थ्य बिमा कार्यक्रम नै संकटमा पर्न सक्ने भन्दै सरोकारवालाहरूले तत्काल समाधानको माग गरेका छन् ।

प्रधानमन्त्रीको सक्रियतासँगै सरकार स्वास्थ्य बिमाको संरचनागत समस्या पहिचान गरी भुक्तानी प्रक्रिया सहज बनाउनेतर्फ अग्रसर हुने अपेक्षा गरिएको छ । बैठकपछि स्वास्थ्य बिमा सेवा नियमित गर्न ठोस निर्णय आउने आशा गरिएको छ ।

सम्बन्धित समाचारसबै