निर्वाचन आयोगद्वारा सवारीसाधन प्रयोगका लागि नयाँ कार्यविधि जारी

0 Shares

काठमाडौँ । निर्वाचन आयोगले आगामी निर्वाचनलाई लक्षित गर्दै प्रचारप्रसार र मतदान अवधिमा सवारीसाधनको प्रयोगलाई व्यवस्थित गर्न नयाँ कार्यविधि जारी गरेको छ। ‘सवारीसाधनको अनुमतिसम्बन्धी कार्यविधि, २०८२’ मार्फत राजनीतिक दल, उम्मेदवार र उनका प्रतिनिधिहरूलाई स्पष्ट मापदण्डभित्र सवारीसाधन प्रयोग गर्न निर्देशन दिइएको छ।

कार्यविधिअनुसार प्रतिनिधिसभाका उम्मेदवारले अधिकतम २ वटा हलुका सवारीसाधन प्रयोग गर्न पाउनेछन् भने स्थानीय तह निर्वाचनमा पदअनुसार १ वा २ वटा सवारीसाधनको सीमा तोकिएको छ। सवारी सञ्चालन नहुने क्षेत्रमा घोडा प्रयोग गर्ने व्यवस्था पनि राखिएको छ।

मौन अवधिमा कुनै पनि सवारीसाधन सञ्चालन नगर्नुपर्ने र अनुमति नलिई वा मौन अवधिमा सवारी प्रयोग भएमा त्यस्ता सवारी नियन्त्रणमा लिइने प्रावधान पनि कार्यविधिमा समेटिएको छ। मतदानको दिन अनुमति प्राप्त सवारीसाधनबाहेक अन्य सवारी सञ्चालन गर्न पूर्णरूपले निषेध गरिएको छ।

यसैबीच, एम्बुलेन्स, दमकल, खानेपानी ट्यांकर, अस्पताल सेवा, दूरसञ्चार र विद्युत् सेवा जस्ता अत्यावश्यक सेवाका सवारीसाधन र कूटनीतिक नियोगका सवारीसाधनलाई अनुमति लिन आवश्यक नपर्ने आयोगले जनाएको छ।

निर्वाचन आयोगका अनुसार, नयाँ कार्यविधिले सवारीसाधनको दुरुपयोग रोक्दै निर्वाचन अवधिमा शान्तिपूर्ण, स्वच्छ र निष्पक्ष मतदान वातावरण सिर्जना गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचारसबै