जंगलराजबाट आधुनिक युगतर्फ अघि बढ्दै सप्तरी : डा. सिके राउत

0 Shares

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले सप्तरी जिल्ला ‘जंगलराज’ को पहिचानबाट बाहिर निस्केर आधुनिक युगतर्फ अघि बढ्न थालेको दाबी गरेका छन्। सप्तरी–२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका राउतले एक भिडिओ सन्देश जारी गर्दै विगतको अवस्थालाई परिवर्तन गरी विकास र समृद्धिको मार्गमा लैजान आफू प्रतिबद्ध रहेको बताएका हुन्।

भिडिओ सन्देशमा उनले सप्तरी विगतमा जंगलराज, गुण्डाराज, दमन र गाउँगाउँमा अशान्तिका घटनाले चिनिएको उल्लेख गरे। “हाम्रो सप्तरी जंगलराजबाट परिचित छ। खाली जंगलराज, गुण्डाराज, दमन, गाउँगाउँमा अशान्ति, एकअर्कासँग झै झगडा,सप्तरी पूरा मुद्दामामिलाका लागि परिचित छ,” उनले भने।

राउतले अब त्यो अवस्थालाई अन्त्य गरी जिल्लालाई विकास, प्रविधि र आधुनिक युगतर्फ लैजान आवश्यक रहेको बताए। “ जंगलराज र गुण्डाराज हटाएर विकास, आधुनिक र अन्तरीक्ष युगमा प्रवेश गराउन हामी चाहन्छौँ,” उनले बताए।

त्यही लक्ष्य पूरा गर्न आफूलाई मतदान गर्न उनले मतदातासँग आग्रह गरेका छन्। जनमत पार्टी सरकारमा रहेका बेला सप्तरी विकासको बाटोमा अघि बढेको दाबी गर्दै उनले अधुरा योजना पूरा गर्न तथा नयाँ पूर्वाधार, शिक्षा, स्वास्थ्य र रोजगारीका कार्यक्रम अघि बढाउन जनसमर्थन आवश्यक रहेको बताए। सप्तरीलाई अशान्तिको प्रतीक होइन, अवसर र सम्भावनाको केन्द्रका रूपमा स्थापित गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

सम्बन्धित समाचारसबै