काठमाडौँ । दैनिक प्रयोगमा आउने दन्तमञ्जन (टुथपेष्ट) र विभिन्न सौन्दर्य सामग्रीमा मानव स्वास्थ्यका लागि हानिकारक सिसा (लिड) को मात्रा फेला परेपछि नेपाल चिकित्सक सङ्घले सरकारसँग तत्काल कडा नियमन र अनुगमन गर्न माग गरेको छ।
सङ्घले विज्ञप्ति जारी गर्दै बजारमा उपलब्ध मुख तथा दन्त सरसफाइका सामग्रीसहित केही सौन्दर्य प्रसाधनमा स्वीकृत अन्तरराष्ट्रिय मापदण्डभन्दा बढी सिसा भेटिनु गम्भीर सार्वजनिक स्वास्थ्य समस्या भएको उल्लेख गरेको छ।
जनस्वास्थ्य तथा वातावरण प्रवर्द्धन केन्द्र (सेफेड) ले हालै सार्वजनिक गरेको अध्ययन प्रतिवेदनअनुसार देशका विभिन्न शहरबाट संकलित नमूनामध्ये ३१ प्रतिशतमा तोकिएको मापदण्डभन्दा बढी सिसा पाइएको छ। विशेषगरी दैनिक प्रयोग हुने दन्तमञ्जनका ४५ प्रतिशत नमूनामा सिसा भेटिएको र बालबालिकाका लागि बजारमा उपलब्ध केही सामग्रीसमेत यसबाट प्रभावित रहेको अध्ययनले देखाएको सङ्घले जनाएको छ।
नेपाल चिकित्सक सङ्घले यस्ता सामग्रीले बालबालिकासहित आमनागरिकको स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने चेतावनी दिएको छ। विश्व स्वास्थ्य सङ्गठनलगायत विभिन्न स्वास्थ्य निकायका अध्ययनअनुसार सिसा अत्यन्त हानिकारक धातु हो, जसले विशेषगरी बालबालिकाको बौद्धिक विकासमा अवरोध, सिकाइमा कठिनाइ, व्यवहारगत समस्या तथा दीर्घकालीन रूपमा दृष्टि, श्रवण र स्नायु प्रणालीमा नकारात्मक असर पुर्याउने वैज्ञानिक प्रमाण रहेको विज्ञप्तिमा उल्लेख छ।
सङ्घले बजारमा उपलब्ध यस्ता उत्पादनको गुणस्तर परीक्षणलाई कडाइ गर्न, मापदण्डविपरीतका सामग्री तत्काल फिर्ता गर्न तथा दीर्घकालीन रूपमा प्रभावकारी नियमन संयन्त्र विकास गर्न सरकारसँग आग्रह गरेको छ।







