आगजनीबाट क्षतिग्रस्त भाटभटेनी कोटेश्वर स्टोर पुनः सञ्चालनमा

0 Shares

काठमाडौँ । जेन–जी आन्दोलनका क्रममा आगलागीबाट क्षतिग्रस्त भएको भाटभटेनी सुपरमार्केटको कोटेश्वरस्थित सुपर स्टोर पुनः सञ्चालनमा आएको छ। कम्पनीले पहिलो चरणअन्तर्गत कोटेश्वर स्टोर आज शनिबार बिहान १०:०० बजेदेखि सञ्चालनमा आएको छ।

आगलागीपछि पाँच महिनासम्म बन्द रहेको स्टोर पुनर्निर्माण र आवश्यक मर्मत सम्पन्न गर्दै पुनः ग्राहकका लागि खुला गरिएको हो। भाटभटेनीका अनुसार यो पुनः सञ्चालनले कम्पनीको पुनर्निर्माणप्रति प्रतिबद्धता, सेवाप्रतिको निरन्तरता र समुदायप्रतिको उत्तरदायित्व झल्काएको छ।

भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलले हालैको घटनाबाट प्रभावित भए पनि कर्मचारी, ग्राहक तथा सरोकारवालाहरूको साथ र विश्वासका कारण संस्था छिटो पुनःउत्थानको मार्गमा अघि बढ्न सफल भएको बताए। उनले कोटेश्वर स्टोरसँगै अन्य प्रभावित स्टोरहरू पनि चरणबद्ध रूपमा सञ्चालनमा ल्याइने जानकारी दिए।

कम्पनीले कठिन परिस्थितिमा साथ, सहयोग र धैर्यता देखाउने ग्राहक, स्थानीय समुदाय, सुरक्षा निकाय तथा सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गरेको छ। साथै आगामी दिनमा पनि गुणस्तरीय सेवा, उचित मूल्य र ग्राहक सन्तुष्टिलाई केन्द्रमा राख्दै निरन्तर सेवा प्रदान गर्ने प्रतिबद्धता दोहोर्‍याएको छ।

सम्बन्धित समाचारसबै