विवाह भोज खाँदा सय बिरामी भन्दा बढी,गाउँमै आकस्मिक स्वास्थ्य शिविर सञ्चालन

0 Shares

खोटाङ । जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङमा आयोजित विवाह भोज खाएपछि करिब डेढ सय जना स्थानीयवासी र पाहुना बिरामी परेका छन्। माघ २१ गते सम्पन्न विवाह समारोहमा सहभागी भएका व्यक्तिहरूमा सामूहिक रूपमा स्वास्थ्य समस्या देखिएपछि ‘फुड पोइजनिङ’ भएको आशंका गरिएको छ।

भोजमा सहभागीहरूले माघ २१ गते खाना खाएका थिए भने २२ गते बेलुकादेखि ज्वरो आउने, शरीर काम्ने, कमजोरी महसुस हुने र लगातार झाडापखाला लाग्ने जस्ता लक्षण देखिन थालेको गाउँपालिका उपाध्यक्ष खेमबहादुर खड्काले जानकारी दिए। उनका अनुसार सुरुमा सामान्य ज्वरो देखिए पनि बिरामीको संख्या एक्कासि बढ्दै गएपछि अवस्था गम्भीर बनेको हो।

“भोज खाएका झन्डै सबै स्थानीय बिरामी परेका छन्, केहीको अवस्था गम्भीर छ,” उपाध्यक्ष खड्काले भने। भोजमा सहभागी भएका बेहुला र बेहुलीसमेत बिरामी परेको उनले बताए। यस्तै, भोज खाएर उदयपुर र काठमाडौँ फर्किएका पाहुनाहरूमा पनि उस्तै लक्षण देखिएको सूचना आएको छ।

बिरामीको चाप अत्यधिक बढेपछि गाउँपालिकाले दिप्लुङकै निगालावास भञ्ज्याङस्थित रामकुमार राईको घरमा अस्थायी स्वास्थ्य शिविर सञ्चालन गरेको छ। हाल ३५ जना बिरामीलाई स्लाइन पानी, जीवनजल र आवश्यक औषधि दिई शिविरमै उपचार भइरहेको छ भने सामान्य अवस्थामा रहेका अन्य बिरामीहरू उपचारपछि घर फर्किएका छन्।

उपचारका लागि गाउँपालिकाको स्वास्थ्य शाखाअन्तर्गत द्रुत प्रतिकार्य टोली (आरआरटी), जिल्ला स्वास्थ्य कार्यालयको टोली तथा जनप्रतिनिधिहरू खटिएका छन्। थप औषधि र जनशक्ति जिल्ला स्वास्थ्य कार्यालयबाट मगाइएको छ।

घटनाको वास्तविक कारण पहिचान गर्न प्रदेशबाट विशेषज्ञ टोली बोलाउने तयारी गरिएको छ। स्वास्थ्य कार्यालय खोटाङका प्रमुख कुलबहादुर पौडेलका अनुसार बिरामीहरूले खाएको खाना वा पानीमा समस्या भए नभएको यकिन गर्न प्रयोगशाला परीक्षणका लागि नमुना  सङ्कलन गरिनेछ।

हाल गाउँभरि चिसो मौसमसँगै बिरामीको प्रकोप बढेकाले स्थानीय बासिन्दा त्रसित बनेका छन्। स्वास्थ्यकर्मीहरूले स्वच्छ खाना र सुरक्षित पानी प्रयोग गर्न तथा व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन आग्रह गरेका छन्।

सम्बन्धित समाचारसबै