काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले टी–२० विश्वकप क्रिकेट खेल्न मुम्बई पुगेको नेपाली राष्ट्रिय टोलीलाई हार्दिक शुभकामना दिएकी छन्। आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश जारी गर्दै उनले विश्वमञ्चमा नेपालको प्रतिनिधित्व गर्न लागेको टोलीप्रति गर्व व्यक्त गरेकी हुन्।
प्रधानमन्त्री कार्कीले मुम्बईस्थित वानखेडे क्रिकेट रंगशालामा आज राष्ट्रिय गान गुञ्जिने उल्लेख गर्दै नेपाली टोलीले विश्वसामु आत्मविश्वास, एकता र सामूहिकताको सशक्त प्रदर्शन गर्ने विश्वास व्यक्त गरिन्। कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको टोलीले देशको सम्मान उँचो बनाउने अपेक्षा उनले राखेकी छन्।
उनले तेस्रो पटक विश्वकप खेलिरहेको नेपालसँग संसारभर रहेका समर्थकहरूको साथ र विगतका उल्लेखनीय उपलब्धिको ऊर्जा रहेको उल्लेख गरिन्। इंग्ल्यान्डविरुद्धको पहिलो खेलअघि सम्पूर्ण राष्ट्रका तर्फबाट शुभकामना व्यक्त गर्दै प्रधानमन्त्रीले ‘विजयी भवः’ सन्देश दिएकी छन्।
विश्वकपअन्तर्गत नेपालले आज दिउँसो ३:१५ बजे इंग्ल्यान्डसँग आफ्नो पहिलो खेल मुम्बईको वानखेडे स्टेडियममा खेल्ने तालिका छ। नेपाली क्रिकेट समर्थकहरू उक्त खेललाई लिएर उत्साहित छन्।