देशभर एचपिभी खोप अभियान सुरु

0 Shares

काठमाडौं । सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप अभियान आजदेखि देशव्यापी रूपमा सुरु गरेको छ। स्वास्थ्य सेवा विभागअन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखाका अनुसार फागुन १५ गतेसम्म सञ्चालन हुने यस अभियानमा कक्षा ६ मा अध्ययनरत किशोरी र विद्यालय बाहिर रहेका १० वर्ष उमेर समूहका किशोरीलाई खोप लगाइनेछ।

यसै अभियानअन्तर्गत गत वर्ष खोप लगाउन छुटेका हाल कक्षा ७ देखि १० सम्म अध्ययनरत किशोरी तथा ११ देखि १४ वर्ष उमेर समूहका विद्यालय बाहिरका किशोरीलाई पनि समेटिनेछ। हिमाली तथा अत्यधिक हिमपात हुने जिल्लामा भने अभियान चैत महिनामा सञ्चालन गरिने शाखाले जनाएको छ।

पाठेघरको मुखको क्यान्सरको प्रमुख कारण एचपिभी सङ्क्रमण भएकाले यसको रोकथामका लागि एचपिभी खोप प्रभावकारी मानिन्छ। कक्षा ६ का किशोरीलाई विद्यालयमै खोप लगाइनेछ भने विद्यालय बाहिरका किशोरीलाई तोकिएका खोप केन्द्रमार्फत सेवा प्रदान गरिनेछ।

खोप शाखाका प्रमुख डा. अभियान गौतमले एचपिभी खोप सुरक्षित र प्रभावकारी भएको उल्लेख गर्दै लक्षित सबै किशोरीलाई खोप लगाउन आग्रह गरेका छन्। उनका अनुसार नेपालमा दैनिक औसत छ जना महिलामा पाठेघरको मुखको क्यान्सर देखिन्छ, जसमध्ये चार जनाको मृत्यु हुने गरेको छ। तर समयमै खोप लगाएर यो रोगबाट जोगिन सकिने उनले बताए।

गत वर्ष माघ २२ देखि फागुन ६ गतेसम्म सञ्चालन गरिएको अभियानमा कक्षा ६ देखि १० सम्म अध्ययनरत तथा विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका करिब १७ लाख किशोरीलाई खोप लगाइएको थियो। यस वर्षको २० दिने अभियानमा करिब तीन लाख ५० हजार किशोरीलाई खोप लगाउने लक्ष्य राखिएको शाखाले जनाएको छ।

नेपालमा महिलामा देखिने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो स्थानमा रहेको छ भने क्यान्सरजन्य मृत्युका कारणमध्ये यो पहिलो स्थानमा पर्ने तथ्याङ्कले देखाएको छ।

सम्बन्धित समाचारसबै