काठमाण्डौं । हेटौँडा औद्योगिक क्षेत्रमा उद्योगहरूको संख्या बढ्दै गएको छ। पछिल्लो समयमा यहाँ थप दुईवटा उद्योग सञ्चालनमा आएका छन्।
औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका सूचना अधिकारी रमेशराज नेपालका अनुसार, यसै माघ महिनाको पहिलो सातादेखि प्रिसिअस ओइष्ट रिफायनरी प्रालिले पुराना इलेक्ट्रोनिक्स सामग्री प्रशोधन गरी नयाँ धातु उत्पादन गर्ने परीक्षण उत्पादन सुरु गरेको छ। उनले भने, “यस प्रकारको उद्योग सम्भवत: नेपालमै पहिलोपटक सञ्चालनमा आएको छ।”
यस्तै, गत कात्तिकदेखि राधाकृष्ण सेनथेटिक प्रालिले पूर्ण रूपमा प्लाष्टिकको बोरा उत्पादन गर्दै आएको छ। उनका अनुसार लामो समयदेखि बन्द रहेका नेपाल ब्रोरी उद्योगले नयाँ व्यवस्थापनसहित केही दिनभित्रै सञ्चालनको तयारी गर्दैछ भने त्रिपुरा इन्डस्ट्रिजले टोबाको उद्योगको रूपमा नयाँ व्यवसाय सञ्चालन गर्ने तयारीमा छ।
तर, औद्योगिक क्षेत्रमा केही उद्योगमा लगानीको अभाव देखिँदा रोटो प्रिन्टिङ उद्योग (प्लास्टिकमा प्रिन्ट गर्ने) र नोबोल प्याकेजिङले हाल उत्पादन बन्द गरेका छन्। अहिले औद्योगिक क्षेत्रमा १३ वटा उद्योग निर्माणाधीन छन्, जसमध्ये अधिकांश अन्तिम चरणमा पुगेका छन्।
सो औद्योगिक क्षेत्र अमेरिका सरकारको आर्थिक सहयोगमा विसं २०२० मङ्सिर २० गते स्थापना भएको थियो। हाल यहाँ १४७ उद्योग तथा प्रतिष्ठानहरूले जग्गा भाडामा लिएर व्यवसाय सञ्चालन गरिरहेका छन्। कुल ३,२२८ रोपनी क्षेत्रफलमा फैलिएको क्षेत्रमा खाद्य उद्योग, युनाइटेड ब्रुअरी, गोर्खा ब्रुअरी कम्पनी, एसियन पेन्ट्स, पशु आहारा दाना उद्योग र कार्टुन उद्योग प्रमुख रूपमा सञ्चालनमा छन्।
औद्योगिक क्षेत्रमा सरकारी स्वामित्वमा रहेका हेटौँडा दुग्ध वितरण आयोजना, प्रदेश खाद्य तथा गुण नियन्त्रण कार्यालय, प्रदेश बीउबिजन कम्पनी, प्रदेश माटो परीक्षण कार्यालय, इलाका प्रहरी कार्यालय र नेपाल बैंक लिमिटेड हेटौँडा शाखा पनि सञ्चालनमा रहेका छन्।
कुल जग्गा क्षेत्रफलमध्ये २,१७८ रोपनी भाडामा दिइएको छ, २६.५२ रोपनी खाली छ भने युटिलिटी सेवा, सडक सञ्जाल, विद्युतीकरण र ढल निकासको लागि ५९७ रोपनी क्षेत्रफल छुट्टाइएको छ। औद्योगिक भवन १०, गोदाम ११ र अन्य भवन ३४ रहेका छन्।
सूचना अधिकारी रमेशराज नेपालका अनुसार औद्योगिक क्षेत्रमा नयाँ उद्योग सञ्चालन र लगानी बढ्नाले रोजगार सृजना र क्षेत्रीय आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ