महोत्तरी । मिथिला माध्यमिकी परिक्रमालाई शान्तिपूर्ण, मर्यादित र धार्मिक वातावरणमा सम्पन्न गराउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय महोत्तरीले परिक्रमा मार्ग र प्रमुख पडावस्थल आसपासका क्षेत्रमा मासु तथा मदिराजन्य पदार्थको बिक्री, वितरण र सेवनमा अस्थायी प्रतिबन्ध लगाएको छ।
जिल्ला सुरक्षा समितिको निर्णयअनुसार परिक्रमा रुट तथा मुख्य पडावस्थल वरपर करिब एक किलोमिटर क्षेत्रभित्र मासु र मदिराको कारोबार पूर्ण रूपमा निषेध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी संजय कुमार पोखरेलले जानकारी दिए।
उनका अनुसार फागुन ७ र ८ गते मटिहानी नगरपालिका क्षेत्र, फागुन ८ र ९ गते जलेश्वर नगरपालिका–४ सुगा, वडा नं. ६ खबोली तथा वडा नं. ७ र ८, फागुन ९ र १० गते महोत्तरी गाउँपालिका, फागुन १० र ११ गते बलवा नगरपालिका–३ तथा धबकुन्ड क्षेत्र, र फागुन ११ र १२ गते लोहरपट्टी नगरपालिका तथा भंगहा नगरपालिकाको कञ्चनवन पडावस्थल आसपास प्रतिबन्ध लागू हुनेछ।
प्रशासनले तोकिएको अवधिमा सम्बन्धित क्षेत्रभित्रका होटल, रेस्टुरेन्ट, पसल तथा खुला स्थानबाट मासु वा मदिरा बिक्री–वितरण नगर्न स्पष्ट निर्देशन दिएको छ। साथै परिक्रमा मार्गमा पर्ने मासु पसलहरूलाई निर्धारित समयसम्म अनिवार्य रूपमा बन्द राख्न भनिएको छ।
निर्देशनको अवहेलना गरी मासु वा मदिराको कारोबार तथा सेवन गरेको पाइएमा प्रचलित कानूनबमोजिम कडा कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ।
मिथिला क्षेत्रमा हरेक वर्ष होलीभन्दा करिब दुई साता अघि सुरु हुने १५ दिने माध्यमिकी परिक्रमा जनकपुरधामस्थित हनुमानगढीबाट आरम्भ हुन्छ। परिक्रमा कल्याणेश्वर, फुलहर, मटिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कञ्चनवन, क्षीरेश्वरनाथ (पर्वता), धनुषाधाम, सतोषर, औरही, करुणा, बिसौल हुँदै पुनः कल्याणेश्वर पुगेर फागुन पूर्णिमाका दिन जनकपुरधाम फर्किने परम्परा छ। त्यसपछि पाँच कोशे अन्तरगृह परिक्रमा सम्पन्न गरेसँगै यो धार्मिक यात्रा समापन हुने गर्छ।