सिरहा । चार वर्षदेखि निर्माणाधीन अवस्थामा अलपत्र परेको सहजा खोलाको पुलको विषयले फेरि सडक तताएको छ। सिरहाको औरही गाउँपालिका–४ इँटाटारस्थित पुल छिटो सम्पन्न गर्न माग गर्दै स्थानीयले सोमबार बिहान प्रधानमन्त्री, प्रमुख जिल्ला अधिकारी र निर्माण कम्पनीका ठेकेदारको पुत्ला जलाएका छन्। प्रदर्शनका कारण पूर्व–पश्चिम हुलाकी सडक केही समय अवरुद्ध बनेको थियो।
पुल निर्माणमा चरम ढिलासुस्ती हुँदा पनि सरकारले ठेकेदारलाई कारबाही गर्नुको साटो पटक पटक म्याद थपेर संरक्षण गरिरहेको छ। आन्दोलनमा सहभागी दीपेन्द्र यादवले जिम्मेवार निकायले स्पष्ट जवाफ नदिएसम्म आन्दोलन जारी रहने चेतावनी दिए। “सीडीओ, एसपी र ठेकेदार आन्दोलनस्थलमा आएर निर्माण कार्यबारे जवाफ दिनुपर्छ,” उनले भने।
अलपत्र पुल नजिक आइतबार राति फेरि सवारी दुर्घटना भयो। बागमती प्रदेश ७८२१ नम्बरको कार डाइभर्सन मोड छुट्दा सिधै खोलामा खसेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। दुर्घटनामा जनकपुरधाम–१४ का २२ वर्षीय अभिषेककुमार राय, ३९ वर्षीया दीपिका कुमारी उपाध्याय र २० वर्षीया प्रिती पटेल घाइते भएका छन्। उनीहरूको उपचार सिरहा प्रादेशिक अस्पतालमा भइरहेको छ।
यस स्थानमा पछिल्लो दुई महिनामै तीन वटा दुर्घटना भइसकेका छन्। २७ कात्तिकमा ड्युटीमा जाँदै गरेका २६ वर्षीय प्रहरी जवान सागर हास्दाको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको थियो। त्यसको भोलिपल्ट २८ कात्तिकमा अर्को कार दुर्घटनामा चालक राकेश यादव घाइते भएका थिए। लगातार दुर्घटना दोहोरिँदा स्थानीय आक्रोशित बनेका हुन्।
२५ मिटर लम्बाइ र ११ मिटर चौडाइको आरसिसी पुल १५ मंसिर ०८१ भित्र सम्पन्न गर्ने सम्झौता थियो। २०७९ माघ १५ गते ११ करोड ५४ लाख रुपैयाँमा सुगम निर्माण सेवा प्रा.लि., महेन्द्रनगरले ठेक्का पाएको थियो। एक पटक म्याद थपिए पनि काम दुवैतर्फ पाइल ढलानमै रोकिएको छ। निर्माण कम्पनीले हालसम्म करिब ४ करोड ४८ लाख रुपैयाँ भुक्तानी लिइसकेको छ, तर कामको प्रगति ३९ प्रतिशतमा सीमित छ। दरैयामा निर्माण हुने बक्स कल्भर्टको काम भने सुरु नै भएको छैन।
हुलाकी सडक निर्देशनालय योजना कार्यालय जनकपुरका योजना प्रमुख कृष्णकुमार महतोका अनुसार ठेकेदार हाल सम्पर्कविहीन छन्। “एक साताभित्र सम्पर्कमा आएर काम सुरु नगरे ठेक्का तोड्ने प्रक्रिया अघि बढ्छ,” उनले बताए। सिरहामा हुलाकी सडकअन्तर्गत पाँच योजना छन्। तीमध्ये लगदीगढियानी सडकबाहेक अन्य योजनाको प्रगति अनिश्चित छ। सहजा खोलाको पुल समयमै नबन्दा सर्वसाधारणको आवागमन जोखिमपूर्ण बनेको छ।