एसियाली खेलकुदका लागि ‘मिसन २०२६’ लाई बजेट अभाव हुन नदिने प्रधानमन्त्रीको प्रतिबद्धता

0 Shares

काठमाडौं । जापानमा सन् २०२६ मा आयोजना हुने २०औँ एसियाली खेलकुदमा नेपाललाई ऐतिहासिक सफलता दिलाउने लक्ष्यसहित अघि बढाइएको ‘मिसन २०२६’ अभियानलाई सरकारले पूर्ण समर्थन गर्ने जनाएको छ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सञ्चालन गरिरहेको उक्त विशेष तयारी कार्यक्रमलाई निरन्तरता दिन निर्देशन दिएकी छन् ।

राखेपका सदस्यसचिव रामचरित्र मेहताको नेतृत्वमा गएको टोलीसँगको भेटमा प्रधानमन्त्री कार्कीले खेलाडीको तयारी र खेलकुद विकासका लागि बजेटको कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरिन् । उनले देशका लागि पदक जित्नु साझा लक्ष्य भएको उल्लेख गर्दै ‘मिसन २०२६’ का लागि आवश्यक थप बजेट सुनिश्चित गर्न अर्थ मन्त्रालयसँग आफूले समन्वय गर्ने बताइन् । साथै, आगामी फागुन २१ गते हुने निर्वाचनपछि विशेष प्रशिक्षण कार्यक्रमलाई थप प्रभावकारी रूपमा अघि बढाउन पनि निर्देशन दिइन् ।

राखेपले एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो अंकमा पदक ल्याउने महत्वाकांक्षी लक्ष्यका साथ दुई वर्षअघि ‘मिसन २०२६’ सुरु गरेको हो । हाल १० विभिन्न खेलका ११ टोलीलाई विशेष प्रशिक्षण दिइँदै आएको छ ।

चालु आर्थिक वर्षका लागि विनियोजित बजेट माघ महिनासम्म मात्र पुग्ने अवस्था आएपछि राखेप टोलीले प्रधानमन्त्रीसँग बजेट सुनिश्चितताका लागि ध्यानाकर्षण गराएको थियो । भेटका क्रममा प्रधानमन्त्रीले निर्वाचनको व्यस्तताबीच पनि खेलाडीहरूको तयारीमा कुनै असर पर्न नहुनेमा जोड दिँदै प्रशिक्षणलाई निरन्तरता र तीव्रता दिन आग्रह गरिन् ।

सदस्यसचिव मेहताले हालसम्मको प्रगति र आगामी योजनाबारे प्रधानमन्त्रीलाई विस्तृत जानकारी गराएका थिए । भेटमा राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्ट र उपनिर्देशक दीपक श्रेष्ठको समेत सहभागिता रहेको थियो ।

सम्बन्धित समाचारसबै