सरकारले बजेट खर्च लक्ष्य घटायो, चालु आर्थिक वर्षमा १६ खर्ब ८८ अर्ब खर्च हुने अनुमान

0 Shares

काठमाडौं। सरकारले चालु आर्थिक वर्षका लागि विनियोजित बजेट पूर्ण रूपमा खर्च गर्न नसकिने अनुमान गर्दै खर्चको लक्ष्य घटाएको छ। आर्थिक वर्षको बजेट कार्यान्वयनको अर्धवार्षिक समीक्षा अनुसार यो वर्ष करिब १६ खर्ब ८८ अर्ब रुपैयाँ मात्र खर्च हुने अनुमान गरिएको छ।

चालु आर्थिक वर्षको लागि सरकारले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट ल्याएको थियो। तर निर्वाचन खर्च जुटाउनुपर्ने र प्राविधिक कारणका कारण खर्च स्रोत अपुग हुने भएकाले लक्ष्य कम गरिएको अर्थमन्त्री डा. रामेश्वर खनालले जानकारी दिएका छन्।

अर्थ मन्त्रालयको संशोधित अनुमान अनुसार, चालु खर्च ११ खर्ब २५ अर्ब ९७ करोड ९४ लाख, पुँजीगत खर्च २ खर्ब ४३ अर्ब ३० करोड ३४ लाख, र वित्तीय व्यवस्थामा ३ खर्ब १९ अर्ब ४ करोड ३९ लाख खर्च हुने देखिएको छ। यसले सुरुको विनियोजनको ८५.९६ प्रतिशत मात्र खर्च हुने देखाउँछ।

अर्थमन्त्री खनालका अनुसार, २१ फागुनमा हुने निर्वाचनका लागि २० अर्ब रुपैयाँ खर्च व्यवस्था गरिएको छ। उनले भने, “बजेट खर्च कम गर्नुपर्ने अर्को कारण संघीय सञ्चित कोष घाटामा हुनु हो। हाल कोषमा करिब १ खर्ब ३० अर्ब मात्र नगद सञ्चित छ, जसले खर्च घटाउन दबाब पुर्‍याएको छ।”

सम्बन्धित समाचारसबै