काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई व्यवस्थित, प्रभावकारी र अर्थपूर्ण बनाउन निर्वाचन आयोगले देशभर विशेष मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने भएको छ।
मतदान प्रक्रियालाई सहज बनाउँदै बदर मतको संख्या घटाउने उद्देश्यसहित आयोगले फागुन ३ गतेदेखि १७ गतेसम्म देशव्यापी रूपमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न लागेको हो। यस कार्यक्रमअन्तर्गत देशभरका ७५३ वटै स्थानीय तहका ६ हजार ७४३ वडामा एक–एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिनेछ।
आयोगका अनुसार स्वयंसेवकहरूले मतदाताको घरघर र बस्तीमा पुगेर नमूना मतपत्रको प्रयोगमार्फत निर्वाचनको महत्व, मतदान विधि तथा सही तरिकाले मत हाल्ने प्रक्रिया बारे जानकारी गराउनेछन्।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार विगतदेखि नै प्रत्येक स्थानीय तहमा तोकिएका सम्पर्क व्यक्तिलाई नै यसपटक मतदाता शिक्षा कार्यक्रमको अनुगमनकर्ताको जिम्मेवारी दिइएको छ। आयोगले मतदाता शिक्षाले निर्वाचनमा जनसहभागिता बढाउनुका साथै बदर मतको अनुपात घटाउन महत्वपूर्ण योगदान दिने विश्वास लिएको छ।