काठमाडौं। आईसीसी टी-२० विश्वकपको समूह चरण अन्तर्गत आज नेपालले दोस्रो खेलमा इटलीको सामना गर्दैछ। इटलीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि नेपालले पहिले ब्याटिङको अवसर पाएको छ।
इटलीका नियमित कप्तान वायन म्याड्सेन चोटका कारण बाहिर रहेकाले आज ह्यारी मानेन्तीले कप्तानी सम्हालेका छन्।
नेपालले आफ्नो टोलीमा स्पिनर शेर मल्लको स्थानमा ललित राजवंशीलाई समावेश गर्दै विश्वकपमा डेब्यूको अवसर दिएका छन्। यसअघिको संस्करणमा १५ सदस्यीय टोलीमा भए पनि ललित खेल खेलेका थिएनन्।
नेपाल र इटली दुवै टोलीले आफ्नो पहिलो जितको खोजीमा छन्। नेपाल पहिलो खेलमा इंग्ल्यान्डसँग पराजित भएको थियो भने इटली स्कटल्यान्डसँग हार बेहोरेको थियो।
आजको खेलका लागि नेपाली टोलीमा कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुल्शन झा, लोकेश बम, करण केसी, नन्दन यादव, ललित राजवंशी र सन्दीप लामिछाने रहेका छन्।