विराटनगर । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ मा इटालीले नेपालविरुद्ध १० विकेटको सनसनीपूर्ण जित दर्ता गरेको छ। विश्वकपमा पहिलो पटक सहभागी भएको इटालीका लागि यो ऐतिहासिक उपलब्धि हो। यसअघि पहिलो खेलमा स्कटल्यान्डसँग ७३ रनले पराजित भएको इटालीले विश्वकप इतिहासमै पहिलो जीत हात पारेको हो।
मुम्बईस्थित वान्खेडे क्रिकेट रंगशालामा भरिभराउ नेपाली समर्थकमाझ, नेपालले दिएको १२४ रनको लक्ष्य इटालीले १२.४ ओभरमै कुनै विकेट गुमाएन। टी–२० अन्तर्राष्ट्रियमा पहिलो भेटमै इटालीले नेपालमाथि प्रभावशाली जित निकाल्न सफल भएको हो।
इटालीको जितमा मोस्का दाजुभाइ चम्किए। जस्टिन मोस्काले ४४ बलमा पाँच चौका र तीन छक्का प्रहार गर्दै अविजित ६० रन बनाए भने एन्थोनी मोस्काले ३१ बलमा तीन चौका र छ छक्कासहित ६२ रन जोडे। उनका अर्धशतकीय इनिङ्सले इटालीलाई सहज जित दिलायो।
नेपालले बलिङतर्फ ६ जना बलर प्रयोग गरे पनि कसैले सफलता हात पार्न सकेन। टी–२० विश्वकप इतिहासमा १० विकेटको जित छैटौँ पटक हो। यसअघि अस्ट्रेलिया, दक्षिण अफ्रिका, ओमान, पाकिस्तान, इंग्ल्यान्ड र न्युजिल्यान्डले यस्तो उपलब्धि हासिल गरिसकेका छन्।
नेपालले टस हारेर ब्याटिङमा आएको थियो र १९.३ ओभरमा १२३ रनमा अलआउट भयो। कप्तान रोहितकुमार पौडेलले १४ बलमा दुई छक्कासहित सर्वाधिक २३ रन बनाए। ओपनर आशिफ शेखले २० र दीपेन्द्र सिंह ऐरिले १७ रन जोडे। आशिफ र ऐरिको चौथो विकेटका लागि ५० रनको साझेदारीले टोलीलाई सम्हाल्ने प्रयास गरेको थियो। तर, १३.५ ओभरमा ऐरि आउट भएपछि नेपालको मध्यक्रम धराशायी भयो।
त्यसपछि १३.५ देखि १६.५ ओभरको अवधिमा नेपालले चार महत्वपूर्ण विकेट गुमायो। आरिफ शेख १६ रनमा आउट भए भने लोकेश बम र गुल्सन झा तीन–तीन रनमा, नन्दन यादव बिना रन आउट भए। करन केसीले १८ रनको योगदान दिए।
इटालीका क्रिसन कालुगामागेले ४ ओभरमा १८ रन खर्चिंदै ३ विकेट लिए। बेन मनेन्तीले २ विकेट लिए भने जे जे स्मट्स, जसप्रित सिंह र अली हसनले समान एक–एक विकेट हात पारे।
यस हारसँगै नेपालको सुपर–८ पुग्ने सम्भावना कमजोर बनेको छ। नेपाल यसअघि पहिलो खेलमा इंग्ल्यान्डसँग चार रनले पराजित भएको थियो। दुई खेलबाट दुई अंक जोडेको इटालीले भने प्लेअफ सम्भावना कायम राखेको छ।
नेपालले अब फेब्रुअरी १५ मा वेस्ट इन्डिजविरुद्ध समूह चरणको तेस्रो खेल खेल्नेछ।