कोशी राजमार्गमा दुर्घटना: मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

0 Shares

विराटनगर । कोशी राजमार्ग अन्तर्गत सुनसरीको दुहबी नगरपालिका–८ जुटमिल अगाडि दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

शुक्रबार भएको दुर्घटनामा को २७ प ८१३४ नम्बरको मोटरसाइकल फलाम फ्याक्ट्रीबाट राजमार्गमा निस्केर दुहबी बजारतर्फ आउँदै थियो भने प्र १–०२–०५२ प ३०५९ नम्बरको मोटरसाइकल खनारबाट दुहबीतर्फ जाँदै थियो। दुवै मोटरसाइकल एकआपसमा ठोक्किएपछि दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा ३०५९ नम्बरको मोटरसाइकलको पछाडि सवार सप्तरी फलहाराका ४९ वर्षीय तीर्थ यादव गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि मोरङको बुढीगंगास्थित विराट शिक्षण अस्पताल लगिएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। यादव सप्तरी घर भई सुनसरीको इटहरी–१३ स्थित रिलायन्स फ्याक्ट्रीको क्वार्टरमा बस्दै आएका थिए।

प्रहरीका अनुसार ८१३४ नम्बरको मोटरसाइकल दुहबी–८ का ४५ वर्षीय सुमन राईले चलाएका थिए भने अर्को मोटरसाइकल सप्तरी रुपनी गाउँपालिका–३ घर भई इटहरी–१३ मा बस्दै आएका ४७ वर्षीय जयनारायण साहले चलाएका थिए।

दुवै मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ। प्रारम्भिक अनुसन्धान अनुसार ३०५९ नम्बरको मोटरसाइकलको तीव्र गतिका कारण दुर्घटना भएको बताइएको छ।

सम्बन्धित समाचारसबै