कोशी प्रदेश सरकार ८ वर्ष पूरा, मुख्यमन्त्री कार्कीले प्रगति दाबी

0 Shares

विराटनगर, फागुन ३कोशी प्रदेश सरकार स्थापनाको आठ वर्ष पूरा भएको छ। २०७४ साल फागुन ३ गते गठन भएको प्रदेश सरकार आइतबारबाट नवौं वर्षमा प्रवेश गरेको छ।

प्रदेश स्थापना दिवसका अवसरमा जारी शुभकामना सन्देशमा मुख्यमन्त्री हिक्मतकुमार कार्की ले प्रदेश सरकारले छोटो अवधिमै उल्लेखनीय उपलब्धि हासिल गरेको दाबी गरेका छन्। उनले प्रदेशमा भएका उपलब्धिहरूलाई बेवास्ता गर्दै नकारात्मक प्रचार भइरहेको भन्दै असन्तुष्टि व्यक्त गरे।

मुख्यमन्त्री कार्कीले नेपालको संविधान, २०७२ जारी भएपछि २०७४ साल मंसिरमा प्रदेशसभा निर्वाचन सम्पन्न भई फागुन ३ गते प्रदेश सरकार गठन भएको स्मरण गराएका छन्। उनले संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयनसँगै प्रदेश सरकार सञ्चालन हुँदै आएको उल्लेख गर्दै छोटो अवधिमै महत्वपूर्ण उपलब्धि हासिल भएको बताए।

भौतिक पूर्वाधार निर्माण, सामाजिक विकास तथा जनताको जीवनस्तर उकास्ने कार्यक्रममार्फत प्रदेश सरकारले उल्लेखनीय प्रगति गरेको उनको दाबी छ। पारदर्शिता, जवाफदेहिता, जनमुखी सेवा र सुशासनलाई प्राथमिकतामा राखेर काम गरिएको उनले बताएका छन्।

प्रदेश सरकारले आवश्यक कानुन निर्माण तथा कार्यान्वयनमा संघीय सरकारसँग सहकार्य र समन्वयलाई महत्व दिएको मुख्यमन्त्रीको भनाइ छ। उनका अनुसार आयोजना गरिएको लगानी सम्मेलनबाट करिब दुई खर्ब रुपैयाँ बराबरको लगानी प्रतिबद्धता प्राप्त हुनु महत्वपूर्ण उपलब्धि हो।

पर्यटन वर्ष घोषणा, पदमार्ग निर्माण तथा पर्यटन प्रवर्द्धनका कार्यक्रममार्फत प्रदेशको पर्यटन क्षेत्र विकास गर्ने प्रयास भइरहेको सन्देशमा उल्लेख छ। सडक सञ्जाल विस्तार, पुल निर्माण तथा कोरोना महामारीका चुनौतीबीच पनि सेवा प्रवाहलाई प्रभावकारी बनाइएको जनाइएको छ।

मुख्यमन्त्री कार्कीले प्रदेश सरकारलाई “देखिने, सुन्ने र अनुभव गर्न सकिने” सरकारका रूपमा विकास गर्दै जनताको सरकारका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। प्रदेश सरकारले स्थापनायता विभिन्न चुनौती सामना गर्दै संघीय संरचनालाई व्यवहारमा उतार्ने प्रयास जारी राखेको उनले बताएका छन्।

सम्बन्धित समाचारसबै