झापा । केपी शर्मा ओली ले दमकमा निर्माण गरिएको टावरको विरोध गर्नेहरूले यसको वास्तविक महत्व नबुझेको बताएका छन्। नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष तथा झापा–५ का उम्मेदवार ओलीले चुनावी घरदैलो अभियानका क्रममा उक्त संरचना केवल भ्यूटावर नभई बहुउद्देश्यीय व्यवसायिक कम्प्लेक्स भएको स्पष्ट पारे।
उनका अनुसार टावरलाई आधुनिक प्रविधिमा आधारित ‘आईटी हब’ का रूपमा विकास गर्ने दीर्घकालीन योजना छ। यो कुनै व्यक्तिगत प्रयोजनका लागि नभई समग्र क्षेत्रको आर्थिक तथा प्राविधिक उन्नतिका लागि निर्माण गरिएको उनले बताए।
टावरको विरोध भइरहनु यसको उद्देश्य नबुझ्नुको परिणाम भएको उल्लेख गर्दै ओलीले यस संरचनालाई दमकको विकासको पहिचान र प्रतीकका रूपमा प्रस्तुत गरे। भविष्यमा यही संरचनाका कारण दमक सहर अन्तर्राष्ट्रिय स्तरमा चिनिने विश्वास उनले व्यक्त गरे।
उनले यस्तो पूर्वाधार विकासले क्षेत्रीय अर्थतन्त्र सुदृढ गर्नुका साथै प्रविधि, रोजगारी र लगानीको अवसर विस्तार गर्ने दाबी गरे।