जितसहित विश्वकप यात्राको लक्ष्यमा नेपाल

0 Shares

काठमाण्डौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले आज स्कटल्यान्डको सामना गर्दैछ। सुरुवाती तीनै खेलमा हार बेहोरेपछि नेपाली टोली आज सान्त्वना जितसहित प्रतियोगिता टुंग्याउने लक्ष्यमा मैदान उत्रँदैछ।

नेपालले सन् २०१४ मा अफगानिस्तान विरुद्ध जित हासिल गरेयता टी–२० विश्वकपमा कुनै खेल जित्न सकेको छैन। पछिल्ला संस्करणहरूमा लगातार असफलता बेहोरेको नेपाल यस पटक १२ वर्षदेखिको जितको खडेरी अन्त्य गर्ने आशामा छ।

यस संस्करणको पहिलो खेलमा इंग्ल्यान्ड विरुद्ध उत्कृष्ट प्रदर्शन गरे पनि अन्तिम समयमा पराजित हुनुपरेको थियो। त्यसपछिका दुई खेलमा भने नेपाली टोली एकपक्षीय रूपमा पराजित भयो।

अघिल्लो संस्करणमा समेत समूह चरणका तीन खेलमा हार बेहोरेको नेपालले एक खेल वर्षाका कारण खेल्न पाएको थिएन। त्यसैले आजको खेल नेपालका लागि केवल प्रतिष्ठाको मात्र नभई आत्मविश्वास पुनःस्थापित गर्ने अवसर पनि बनेको छ।

स्कटल्यान्डविरुद्धको यो खेलले नेपालको आगामी अन्तर्राष्ट्रिय यात्रामा मनोबल बढाउने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचारसबै