काठमाण्डौ। यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य चुनाव निष्पक्ष, धाँधलीरहित र सुरक्षित रूपमा सम्पन्न गर्न देशभर निर्वाचन प्रहरी तथा सुरक्षा टोली परिचालन गरिएको छ। काठमाण्डौका प्रमुख व्यापारिक केन्द्रदेखि गाउँ–गाउँसम्म म्यादी प्रहरीसहित सुरक्षा बल खटिएका छन्।
निर्वाचन प्रहरी नीलो बर्दीमा देखिन्छन् र नेपाल प्रहरीले उनीहरूलाई सुरक्षा घेरामा मात्र सीमित नराखी नागरिकसँगको व्यवहार, भीड नियन्त्रण तथा चुनावी आचारसंहिता पालनामा समेत प्रशिक्षण प्रदान गरेको छ। चोक–चोकमा खटिएका म्यादी प्रहरीलाई सम्बन्धित क्षेत्रका प्रहरी निरीक्षक र हवल्दारले स्थलगत रूपमा कामको प्रकृति बुझाइरहेका छन्। यसअघि नेपाली सेना सहित सबै सुरक्षा निकाय चुनावी सुरक्षाका लागि परिचालित भइसकेका छन्।
यसैबीच, निर्वाचन आयोगले तोकेको समयसीमा अनुसार दलहरूले हिजोदेखि चुनावी प्रचारप्रसार सुरु गरेका छन्। आयोगले १८ फागुनसम्म प्रचार गर्न अनुमति दिएको छ। प्रत्यक्षतर्फ कुल ३ हजार ४ सय ६ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। उनीहरूले आ–आफ्नो निर्वाचन क्षेत्रमा घरदैलो, कोणसभा लगायतका प्रचारप्रसार तीव्र रुपमा जारी राखेका छन्।
आयोगले उम्मेदवारहरूलाई आचारसंहिताको पालना गर्दै प्रचार–प्रसार गर्न निर्देशन दिएको छ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी का अनुसार आयोगले प्रचारका लागि बिहान ७ देखि बेलुका ७ बजेसम्मको समयसीमा तोकेको छ। आयोगले हातहतियार वा विस्फोटक पदार्थको प्रयोग नगर्न, आर्थिक प्रलोभन नदिन, सार्वजनिक भोज आयोजना नगर्न र त्यस्ता कार्यक्रममा सहभागी नहुने पनि आग्रह गरेको छ।