काठमाडौँमा वायु प्रदूषण खतरनाक तह नजिक, विश्वकै तेस्रो प्रदूषित शहरमा सूचीकृत

0 Shares

काठमाडौँ । काठमाडौँ उपत्यकामा वायु प्रदूषणको स्तर उल्लेखनीय रूपमा बढेको छ। हिजो दिउँसो १७८ रहेको वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) आज बढेर १९१ पुगेको छ, जुन ‘सबैका लागि अस्वस्थ’ श्रेणीमा पर्दछ। यस्तो अवस्थामा विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा श्वासप्रश्वास र मुटुरोगीलाई बढी जोखिम हुने चिकित्सकहरूले बताएका छन्।

‘एअर क्वालिटी इन्डेक्स’ अनुसार आज काठमाडौँ विश्वकै तेस्रो प्रदूषित शहरका रूपमा सूचीकृत भएको छ। भारतको दिल्ली २२९ एक्यूआईसहित पहिलो र पाकिस्तानको लाहोर २०३ एक्यूआईसहित दोस्रो स्थानमा रहेका छन्।

वातावरण विभाग का महानिर्देशक ज्ञानराज सुवेदी ले वर्षा नभए आगामी दिनमा प्रदूषण अझै बढ्न सक्ने चेतावनी दिनुभएको छ। उहाँका अनुसार वर्षाले हावामा रहेका धुलो तथा सूक्ष्म कणलाई जमिनमा झार्ने भएकाले लामो समयसम्म सुक्खा मौसम रहँदा प्रदूषण उच्च हुने गर्छ। दिगो तथा वातावरणमैत्री विकासका उपाय प्रभावकारी रूपमा लागू गर्न सम्बन्धित निकायलाई सुझाव दिइएको पनि उहाँले जानकारी दिनुभयो।

वातावरण अभियन्ता वर्षा पराजुली का अनुसार उपत्यकामा सवारीसाधनको तीव्र वृद्धि, डिजेल तथा पेट्रोलबाट निस्कने धुवाँ, निर्माणाधीन सडक र पूर्वाधार आयोजनाबाट उड्ने धुलो, वन डढेलो तथा लामो समयसम्मको सुक्खा मौसम प्रदूषणका प्रमुख कारण हुन्। “समयमै नियन्त्रणका उपाय नअपनाइए स्थिति अझ जटिल बन्न सक्छ,” उहाँले चेतावनी दिनुभयो।

विश्व स्वास्थ्य संगठन को मापदण्डअनुसार एक्यूआई ४० भन्दा कम हुनुपर्छ। ५१ देखि १०० सम्म सामान्य, १०१ देखि १५० संवेदनशील समूहका लागि अस्वस्थ, १५१ देखि २०० अस्वस्थ, २०१ देखि ३०० निकै अस्वस्थ र ३०१ भन्दा माथि खतरनाक मानिन्छ।

काठमाडौँ उपत्यकाको वायु गुणस्तर व्यवस्थापन कार्ययोजना २०७६ अनुसार एक्यूआई ३०० नाघेमा विपद् घोषणा गर्न सकिने व्यवस्था छ। यस्तो अवस्थामा फोहोर बाल्ने कार्य रोक्ने, सडक सफाइका लागि ब्रुमर र भ्याकुम प्रयोग बढाउने तथा जोखिम समूहलाई सावधानी अपनाउन सार्वजनिक सूचना जारी गर्ने प्रावधान रहेको छ।

राष्ट्रिय वातावरण नीति २०७६ ले वायु, जल, माटो, ध्वनि तथा अन्य प्रकारका प्रदूषण नियन्त्रणका लागि राष्ट्रिय मापदण्ड तयार गरी कार्यान्वयन गर्ने रणनीति अघि सारेको छ। साथै प्रमुख शहर र औद्योगिक क्षेत्रमा गुणस्तर मापन केन्द्र स्थापना गरी नियमित अनुगमन गर्ने योजना पनि समावेश गरिएको छ।

सम्बन्धित समाचारसबै