काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को नयाँ टी–२० अन्तर्राष्ट्रिय अलराउन्डर वरीयतामा चौथो स्थानमा उक्लिएका छन्।
आईसीसीले बुधबार सार्वजनिक गरेको ताजा वरीयताअनुसार ऐरीले दुई स्थान सुधार गर्दै छैटौँ स्थानबाट चौथो स्थान सुरक्षित गरेका हुन्। हालै सम्पन्न टी–२० विश्वकपमा गरेको उत्कृष्ट प्रदर्शनका आधारमा उनले यो उपलब्धि हासिल गरेका हुन्।
विश्वकपका क्रममा उनले नेपालका लागि सर्वाधिक १६९ रन प्रहार गरेका थिए भने बलिङतर्फ २ विकेट लिएका थिए। यससँगै उनको मूल्याङ्कन अंक २०२ बाट बढेर २४४ पुगेको छ, जुन उनको खेल जीवनकै अहिलेसम्मको उच्चतम अंक हो।
ब्याटिङ वरीयतामा पनि उनले उल्लेखनीय सुधार गरेका छन्। ११ स्थान फड्को मार्दै उनी ६०औँ स्थानमा पुगेका छन्।
नयाँ अलराउन्डर वरीयताको शीर्ष स्थानमा सायम अयुब ३०३ अंकसहित रहेका छन्। सिकन्दर राजा दोस्रो स्थानमा झरेका छन् भने हार्दिक पान्ड्या तेस्रो स्थानमा यथावत् छन्। पाँचौँ स्थानमा अजमतुल्लाह ओमरजाइ रहेका छन्।
दीपेन्द्रसिंह ऐरीको यो ऐतिहासिक उपलब्धिले नेपाली क्रिकेट समर्थकहरूमा थप उत्साह र गर्वको भावना जगाएको छ।