काठमाडौँ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले प्रजातन्त्र दिवसको अवसरमा नेपाली जनताको दीर्घकालीन संघर्ष, त्याग र बलिदानको ऐतिहासिक महत्त्व स्मरण गर्दै लोकतन्त्र, सुशासन र युवाको सक्रिय सहभागितामा जोड दिएका छन्।
डा. यादवले भने, “प्रजातन्त्र दिवस केवल ऐतिहासिक सम्झनाको दिन होइन, लोकतान्त्रिक मूल्य, नागरिक अधिकार र राष्ट्रिय एकताको पुनःप्रतिबद्धताको अवसर हो। युवाले यसको ऐतिहासिक महत्त्व बुझ्न जरुरी छ।” उनले नेपालको २००७, २०४६ र २०६२/६३ सालका आन्दोलनले पाएको उपलब्धि राष्ट्रिय गौरवको धरोहर भएको स्मरण गराए।
युवा सहभागिताबारे उनले बताए, “प्रजातन्त्रको मूल आधार जनताको सर्वोच्चता हो। जनताको सक्रिय सहभागिता बिना लोकतन्त्र सुदृढ हुन सक्दैन। संविधानले दिएको अधिकारको प्रयोगसँगै नागरिकले आफ्नो कर्तव्य पनि पूरा गर्नुपर्छ।”
सुशासन र भ्रष्टाचार नियन्त्रणमा उनले जोड दिए, “लोकतन्त्रको सार्थकता नागरिकको जीवनस्तर, पारदर्शिता, भ्रष्टाचार नियन्त्रण र प्रभावकारी सेवा प्रवाहसँग जोडिएको छ। राजनीतिक स्थायित्व, न्यायिक स्वतन्त्रता र समावेशी सेवा प्रवाह अपरिहार्य छन्।”
सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम गर्न उनले बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक समाजमा समावेशी लोकतान्त्रिक नेतृत्व आवश्यक भएको बताए। “लोकतन्त्र तब मात्र सार्थक हुन्छ जब सबै नागरिकले समान अवसर र सम्मान अनुभव गर्छन्। समावेशीता, संघीयता र सामाजिक न्याय सुदृढ हुनु आजको आवश्यकता हो।”
आगामी निर्वाचनबारे डा. यादवले मतदातालाई अपिल गर्दै भने, “यो चुनाव केवल आवधिक नभई संविधान माथि भएको क्षतिको पूर्ति गर्ने अवसर हो। सही पार्टी छानेर राष्ट्रहितमा मतदान गर्नु आवश्यक छ। लोकतन्त्र र सार्वभौमिकताको रक्षा अहिलेको मुख्य विषय हो।”
प्रथम राष्ट्रपति डा. यादवले प्रजातन्त्र दिवसलाई जिम्मेवारी र आत्ममूल्यांकनको दिनका रूपमा पनि व्याख्या गर्दै सम्पूर्ण नेपालीलाई लोकतान्त्रिक मूल्य अंगीकार गरी देशको स्थायित्व, समृद्धि र सुशासनका लागि योगदान गर्न आग्रह गरेका छन्।